
काठमाडौँ - संसदीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण २७ दिनदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारू भएको छ ।
प्रतिनिधि सभा नियमावली १ सय ७७ अनुसार संदस्दीय सुझाव समिति गठन गर्ने सहमतिपछि सदन सुचारू गर्न कांग्रेस र राजपा राजी भएका हुन् ।
संसद भवन नयाँ वानेश्वरमा बसेको सर्वदलीय बैठकमा भविष्यमा यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
सदन सुचारू गर्न भन्दै बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर सारिएको थियो ।
नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु तथा बालकको मृत्युको विरोध गरिरहेका स्थानीयमाथि प्रहरी दमनका क्रममा स्थानीय सरोजकुमार सिंहको मृत्यु सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आइरहेका थिए ।
अपवादको रूपमा साउन ८ गते जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएपनि कांग्रेस र राजपाको विरोधका कारण संसदको बैठक असार २४ गतेदेखि अवरुद्ध हुँदै आएको थियो ।