काठमाडौं – जम्मु तथा कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० को प्रावधानलाई भारत सरकारले खारेज गरेपछि पाकिस्तानमा हलचल मच्चिएको छ ।
पाकिस्तानका सबै मिडिया आउटलेटले यसलाई निकै प्राथमिकता दिएर प्रकाशन प्रसारण गरेका छन् । पाकिस्तानी पत्रिका द न्युजले लेख्यो, ‘अब पाकिस्तान अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ । पाकिस्तानले कश्मीर मुद्दामा पहिलेदेखि नै सक्रियता देखाएको छ र अहिले यो परिस्थितिमा मौन बस्न मिल्दैन ।’
पाकिस्तानी जनताले सामाजिक सञ्जालमा यस घटनाक्रमप्रति आक्रोश व्यक्त गरेका छन् । आमरा मेहदी नामक एक ट्विटर प्रयोगकर्ताले लेखिन्, ‘जिन्ना साहब, माफी चाहन्छु । पाकिस्तानका हाम्रा कथित प्रतिनिधिहरू एकअर्कासँग लड्नैमा अनि सम्पत्ति थुपार्नैमा व्यस्त भए । तपाईंको कश्मीर हातबाट फुत्कियो ।’
अर्का एक पाकिस्तानी प्रयोगकर्ताले लेखे, ‘मुस्लिम विश्वले मतभेद भुलाएर एकजुट हुँदै कश्मीरमा नरसंहार गर्नबाट भारतलाई रोक्नुपर्छ ।’
एजेन्सी