२३ असार २०८३, मंगलबार

दुई वर्षमै निर्माण सम्पन्न हुनुपर्ने बाग्मती पुल ४ वर्षसम्म अन्योलमै

दुई वर्षमै निर्माण सम्पन्न हुनुपर्ने बाग्मती पुल ४ वर्षसम्म अन्योलमै

काठमाडौं–तीनकुने शान्तिनगर जोड्ने पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण कार्य ४ वर्ष अघि नै शुरू भएपनि उक्त पुल निर्माणको कार्य अलपत्र परेको हो ।

ठेकेदारको लापरवाहीले उक्त  निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको अवधि सकिएको पनि एक वर्ष भइसकेको छ । तर अझैपनि उक्त पुल निर्माणका लागि सरकारले अवधि थप्ने वा नथप्ने सम्बन्धी कुनै निर्णय नगर्दा पुल निर्माणको काम झनै अन्योलमा परेको हो । 

उक्त निर्माण कम्पनीले नै निर्माण गरेको टेकु पुल भत्काएर कम्पनीलाई पुनःबनाउन दिने निर्णय भए पनि अहिलेसम्म वाग्मती पुलसम्बन्धी निर्णय भइनसकेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार सम्झौता अवधि सकिएपछि अहिले उक्त कम्पनीले अवधि थपको माग गर्दै कागजात बुझाएको छ । अहिलेसम्म काम सन्तोषजनक नभएकाले सरकारले तत्काल अवधि थप्ने निर्णय गरिनसकेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले केही महीना पहिले मात्रै स्थलगत निरीक्षण गरेर पुल निर्माणका क्रममा भएका कमजोरी सच्चाउन निर्देशन दिएको थियो । विभागले चार वर्ष पहिले काठमाडौँ उपत्यकाका १० सडकसँगै वाग्मती पुल र धोबीखोला पुल विस्तारको काम काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामार्फत शुरु गरेको थियो ।
तीमध्ये मुआब्जा विवादका कारण सडक विस्तार सुस्त भएको र वाग्मती पुल ठेकेदारको ढिलाइका कारण अघि बढ्न नसकेको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

विसं २०७१ पुस ४ मा पुल निर्माणको सम्झौता भएको उहाँले बताउनुभयो । ठेक्का सम्झौता अवधि साढे दुई वर्षसम्म पनि काम नसकिएपछि आयोजनाले एक वर्ष अवधि थप गरेको उहाँले जानकारी दिनुभयो । थप भएको अवधिसमेत गत वर्ष असारमा सकिएको छ । उहाँले भन्नुभयो, ‘यसअघि भएको काम चित्त बुझ्दो नभएकाले हामीले थप कामका लागि सिफारिश गरेका छैनौँ ।’

ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति २५ प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण भइरहेको यो पुलको ठेकेदारले नियमितरूपमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । यो पुल निर्माण शुरु हुँदा सम्बन्धित निकायले यहाँका विभिन्न संरचना हटाउन चासो नदिएको उहाँले बताउनुभयो । सञ्चिता घिमिरे/ रासस

salt training

कमेन्ट गर्नुहोस्