
तनहुँ - भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैभित्र लालपूर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीलाई आग्रह गरेकी छिन् ।
तनुहँको सुक्लागण्डकी - ७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजीत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्री परिषद्को निर्णयले स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको भन्दै दशैभित्र जनताको हातमा लालपूर्जा थमाउनेगरी काम गर्न निर्देशन दिएकी हुन् ।
त्यसअनुसार दशैंभित्र लालपुर्जा दिनेगरी काम गर्न मन्त्री अर्यालले कर्मचारीलाई आग्रह गरिन् । ‘राजनीतिक व्यक्तिलाई दिँदा विवाद होला, समस्या पर्दा र काम रोकिएला भनेर स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलगायतका मातहतका कर्मचारीलाई दिएको हो’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्री परिषद्को निर्णय त मान्नुपर्यो नि ! पाल्पाको रामपुर र यहाँको छिट्टै काम सकेर लालपूर्जा बाड्ने योजना छ । प्रमख जिल्ला अधिकारीलगायत सबै कर्मचारीले त्यसतर्फ ध्यान दिनुपर्यो ।’
उनले छिटो काम गर्न र काममा खुट्टा नकमाउन आग्रह गरिन् । ‘नेपाल सरकारले यो काम गर भनेपछि कार्यान्वयन गर्नु किन ढिलाई गरिरहनुभएको छ ?, उनले प्रश्न गरिन्, ' यसपटकको दशै यहाँका जनताले हालमा लालपूर्जा बोकेर खुशी साथ मनाउन पाउन, सबै कर्मचारीलाई निर्देशन र जनप्रतिनिधिलाई मेरो अनुरोध छ ।’
बिचौलियादेखि भने सतर्क रहन उनले स्थानीयलाई आग्रह गरिन् । ‘अहिले जे क्षेत्रमा पनि बिचौलियाको बिगबिगी छ । जग्गा जमिनमा झन नहुने कुरै भएन, त्यस्ता समुहबाट तपाईंहरु सतर्क रहनुहोला’, मन्त्री अर्यालले भनिन् ।