२५ असार २०८३, बिहीबार

विराटनगरमा मन्त्रीको गाडी अगाडि सुतेर विरोध प्रदर्शन, के हो विषय ?

जेठ २८, २०८३
विराटनगर
विराटनगरमा मन्त्रीको गाडी अगाडि सुतेर विरोध प्रदर्शन, के हो विषय ?

वर्षौंदेखि जीर्ण रहेको विराटनगरको सडक मर्मतमा सरकार र महानगरले चासो नदिएको भन्दै स्थानीयवासीले बिहीबार अनौठो विरोध प्रदर्शन गरेका छन् । 

विराटनगरको पुष्पलाल चोक–तिनपैनी सडकखण्ड अन्तर्गत ल क्याम्पस अगाडि जम्मा भएका स्थानीयले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीको गाडी रोक्न सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

सडकमै सुतेर मन्त्रीको गाडी रोक्ने कार्यको नेतृत्व स्थानीय शिव भट्टराईले गरेका थिए । भट्टराई पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा सक्रिय थिए । त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समेत आबद्ध थिए । यद्यपि, अहिले आफू कुनै पनि दलमा नरहेको र केवल ‘पीडित स्थानीय’को हैसियतमा आन्दोलनमा उत्रिएको उनले बताएका छन् ।

विराटनगर वडा नं. १ र ३ का बासिन्दाहरूले बिहान करिब दुई घण्टा सडक अवरुद्ध गरेका थिए । सडकको हिलो र खाल्डाखुल्डीका कारण दैनिक २ देखि ४ वटासम्म सवारी दुर्घटना हुने गरेको र मन्त्रीहरू सोही बाटो हिँड्दा पनि बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेका भट्टराईले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफूहरूको समस्याप्रति निकै गैरजिम्मेवार जवाफ दिएको आरोप लगाएका छन् । 

भट्टराईले पटक पटक डेलिगेसन जाँदा मेयर कोइरालाले ‘मलाई यो बाटो हिँड्नै छैन, अर्को पटक चुनाव उठ्नु नै छैन’ जस्ता जवाफ दिएर जनताको सास्तीलाई मजाक उडाएको आरोप लगाए । 

भट्टराईले लोकान्तरसँग कुराकानी गर्दै भनेका छन्, ‘हामीले मेयरलाई भेटेर पटक–पटक गुहार्‍यौं, तर उहाँले उल्टै सक्नुहुन्छ भने बाटो बन्द गरिदिनुस्‌सम्म भन्नुभयो । त्यसैले हामीले बाध्य भएर यो कदम चालेका हौं ।’ 

मन्त्रीको गाडी घेराउ गरी चक्काजाम गरेपछि मोरङका डीएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो । आन्दोलनकारीले एम्बुलेन्स, फोहोर बोक्ने गाडी र दूधका गाडीलाई भने अवरोध नगरी जान दिएका थिए ।

डीएसपी श्रेष्ठले तत्कालका लागि गिट्टी उपलब्ध गराएर सडकका खाल्डा पुर्न पहल गर्ने र दुई दिनभित्र समस्याको थप निकास निकाल्ने आश्वासन दिएपछि स्थानीयले सडक खोलेका छन् ।

ओभरलोड सवारीसाधन र विशेषगरी टिपरका कारण सडक क्षतविक्षत भएको भट्टराई बताउँछन् । ‘हामीलाई राजनीतिक आश्वासन होइन, सुरक्षित सडक चाहिएको हो’, उनले भने । 

महानगरले गत आर्थिक वर्षमा मर्मत गरेको भने पनि कमसल सामग्रीका कारण सडक महिना दिनमै पुरानै अवस्थामा फर्किएको स्थानीयको गुनासो छ ।

दुई दिनभित्र ठोस प्रगति नभए फेरि कडा आन्दोलनमा उत्रिने चेतावनी भट्टराईसहितका स्थानीयले दिएका छन् । मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले केहीबेरको अवरोधपछि सम्झाई–बुझाई गरी बाटो खुलाइएको बताए। 

salt training

कमेन्ट गर्नुहोस्