काठमाडौँ, १५ चैत- प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिएको असर घोडेजात्रामा देखिएको छ ।
नेपाली सेनाले सोमबार घोडेजात्राको अवसरमा टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सरकारमा रहेका तीनै जना उपप्रधानमन्त्रीहरु गएनन् । आजको राजधानी दैनिकमा खबर छ ।
नेपाली सेनाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका नाममा निमन्त्रणा गरेको भएपनि कार्यवाहक प्रधानमन्त्री कोही नतोकिएकाले त्यहाँ नगएको स्रोतले दावी गरेको छ ।
वरीयता विवादका कारणले कार्यवाहक नतोकी प्रधानमन्त्री दाहाल चीन गएको प्रभाव घोडेजात्रामा देखिएको सैनिक अधिकारीहरुले पनि स्वीकार गरेका छन् । ‘सैनिक मञ्च टुँडिखेलमा भएको घोडेजात्राको औपचारिक कार्यक्रममा तीनैजना उपप्रधानमन्त्रीहरु आउनु भएन, हामीले उहाँहरुलाई पनि निमन्त्रणा गरेका थियौं,’ सैनिक स्रोतले भन्यो ‘काम परेर हुनसक्छ उहाँहरु कोही पनि आउनु भएन ।’ टुडिखेलमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री वा कार्यवाहक प्रधानमन्त्रीका लागि पहिलो लहरमा विशिष्ट अतिथिसँगै कुर्सी राखिएको थियो, जुन कुर्सी खाली नै भयो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि को वरिष्ठ भन्ने विवादले प्रधानमन्त्रीको कुर्सी खाली रहन गएको हो ।