
पोखरा – नियमविपरीत होटल सञ्चालन गर्ने १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेस्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनले होटेलमा बास बस्न आएका ३ भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखिएको हुँदा प्रहरीले उनलाई मगलवार पक्राउ गरिएको हो । तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । लक्ष्मी परियारको साउन १ गते हत्या भएको थियो ।
‘होटेल व्यवसायी तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३’ को दफा ५ को उपदफा १९ अन्तर्गत कसूर गरेको देखिएकाले आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि ममतालाई बुधवार आन्तरिक राजस्व कार्यालय पोखरा पठाइएको छ ।