
बुटवल - संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकारले गति बढाउने बताएका छन् ।
‘सरकारको गति कम छ तर, सही दिशामा छ’ बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘गति बढाएर गलत दिशामा जानु भन्दा कम गतिले सही दिशामा हिंड्नु उपयुक्त हुन्छ । सरकार सही दिशामा छ । अब यसको स्पिड बढ्छ ।’
सरकार जनता र राष्ट्रको आवश्यकतालाई प्राथामिकतामा अगाडि बढेको उनले स्पष्ट पारे । मन्त्री भएपछि पहिलो पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी लुम्बिनीसँग सम्बन्धित विभिन्न क्षेत्रको निरीक्षणका लागि भट्टराई रूपन्देही आएका हुन ।
सरकारले आउने वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने दावी गरे । हाम्रो ध्यान यातायात र पूर्वाधारमा केन्द्रित छ । अबको तीन वर्षभित्र नेकपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेका सबै कार्ययोजना सरकारले पूरा गरेर छाड्छ ।
आउदो डिसेम्बर ३० सम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँछ
मन्त्री भट्टराईले सन् २०१९ को डिसेम्बर ३० भित्र राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताए । विभिन्न अवरोध र झण्झट बेहोरेको विमानस्थलले यो सरकार आएपछि पुनःजीवन पाएको छ । कामको गति पनि बढेको छ । सबैले डिसेम्बर ३० भित्र सम्पन्न गराउन सपना देखौं ।’
‘३० डिसेम्बरमा विमान अवतरण गराउनुपर्छ । त्यसको लागि रूट भैरहवा रूट भारतले दिन तयार भएको छ । तर, हामीले नेपालगञ्ज मागेका छौं । त्यसको बारेमा छलफल र निचोडमा पुग्न बाँकी छ’ भट्टराई भने ।
लुम्बिनीको‘मास्टर प्लान’
मन्त्री भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले ‘मास्टर प्लान’ बनाउन लागेको बताए । लुम्बिनी आउने पर्यटकहरु, रामग्राम, देवदह, तिलौराकोट जाने गरी हामीले गुरुयोजना बनाउदै छौ । हाम्रो सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य छ । ५० लाख नेपाली कामको लागि विदेशमा छ । ति एक जना नेपालीले १ जना विदेशीलाई नेपाल भ्रमणमा पठाउन सक्नुपर्छ । फेसबुकमा गाली गरेर देश बन्दैन ।’
१० लाख जनता उतारेर निजगढ बिमानस्थल शिलन्यास गर्छौं
मन्त्री भट्टराईले आउँदो डिसेम्बरसम्म बाराको निजगढ विमानस्थल शिलन्यास गर्ने दावी गरेका छन । विकास भनेको उत्सव हो । ‘हामी निजगढको जंगलशमा १० हजार २० हजार होइन १० लाख नेपाली जनता उतारेर विमानस्थल शिलन्यास गर्दै छौ’ भट्टराईले भने । बुटवलबाट पनि गाडीका गाडी त्यहाँ जनता र पत्रकारहरू पुग्नुपर्छ । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए ।
भट्टराईले पार्टी एकताको बाँकी काम छिट्टै टुंगिने बताएका छन् । '९० प्रतिशत काम सकिएको छ । अबको एक डेढ महिनाभित्र बाँकी काम पनि टुङगो लगाउछौ,' उनले भने, 'पार्टी नयाँ शिराबाट अगाडि बढ्छ ।'