
काठमाडौं – भारत सरकारले जम्मु–कश्मीरको विशेषाधिकार खोसेको कदमलाई भर्त्सना गर्नका लागि विश्वका नेताहरूलाई मनाउन पाकिस्तान असफल भएको छ । उसको चिरकालीन मित्र चीन बाहेक अरू कुनै पनि देशले भारतको आलोचना गर्न मानेनन् ।
यस्तो स्थितिमा पनि इस्लामाबादले कूटनीतिक प्रयास जारी राखेको छ । प्रधानमन्त्री इमरान खानले मुसलमानबहुल मुलुक सहित थुप्रै देशका नेतालाई व्यक्तिगत रूपमा फोन गरेर यो विषय उठाइरहेका छन् ।
सन् २०१४ मा सत्तामा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र सम्बन्ध सुधार्नका लागि प्रशस्त समय खर्च गरेका हुन् । विशेषगरी उनले खाडी मुलुकसँग बनाएको सुसम्बन्धको सुखद परिणाम भारतलाई अहिले प्राप्त भइरहेको छ ।
पाकिस्तानलाई बेवास्ता गर्दै इस्लामी सहयोग संगठनको महत्त्वपूर्ण सदस्य युनाइटेट अरब एमिरेट्सले भारतको समर्थन गरेको छ अनि जम्मु तथा कश्मीरमा भारतको कदम उसको आन्तरिक मामिला भएको बताएको छ ।
साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई इमरान खानले फोन गरेर गुनासो गर्दा पनि वास्ता गरेनन् । टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनले पनि त्यसै गरे ।
पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशी साउदी अरबको जेद्दा पुगेर ओआईसी कश्मीर सम्पर्क समूहको आकस्मिक बैठक बोलाए । ओआईसी कश्मीर समूहले कश्मीरको मामिलामा जहिले पनि पाकिस्तानलाई समर्थन गर्छ । भारतले कश्मीरका विषयमा ओआईसीका वक्तव्यहरूलाई बेवास्ता गर्दै आएको छ ।
प्रधानमन्त्री मोदीले खाडीका मुलुक विशेषगरी साउदी अरब र यूएईलाई पहिलेका प्रधानमन्त्रीले नदिएको ध्यान दिएकाले त्यसको सुखद परिणाम पाएका छन् ।
मोदीले बहुमतका साथ पुनर्निर्वाचित भएपछि अनि भारतको आर्थिक तथा सामाजिक स्थिरता भएपछि नै ती देशहरूले भारतसँग सुुसम्बन्ध कायम गरेर समुज्ज्वल आर्थिक भविष्य बनाउन चाहेका छन् ।
मोदी सरकारले पश्चिम एसियामा जोड दिने नीति अपनाएपछि खाडी अहिले भारतको विस्तारित छिमेकको अभिन्न अंग बन्न पुगेको छ । भौगोलिक र आर्थिक रूपमा निकट भएर मात्र नभई खाडी राज्यहरूमा ठूलो संख्यामा भारतीय आप्रवासी समुदायको बसोवास छ । त्यहाँ लगभग ७६ लाख भारतीय बस्ने गरेको अनुमान छ ।
धनी अरब मुलुकहरू नयाँ दिल्लीको सफलतामा जोडिन चाहन्छन् न कि ऋणमा चुर्लुम्म डुबेको अनि भारतविरुद्ध गुनासो गरिरहने इस्लामाबादलाई समर्थन गर्छन् भनी पाकिस्तानले बुझ्नै सकेन ।
मोदीले खाडी मुलुकमा गरेको सम्बन्ध विस्तारका कारण यूएईले उनलाई यसै वर्षको अप्रिल महिनामा जायेद मेडल दिएको थियो । उक्त मेडल राजा, राष्ट्रपति र राज्यप्रमुखहरूलाई दिने गरिन्छ । मोदीले दुई देशबीचको दीर्घकालीन मित्रता तथा संयुक्त रणनीतिक साझेदारीलाई थप मजबूत बनाउन भूमिका निर्वाह गरेकाले उक्त सम्मान दिइएको हो ।
सन् २०१६ मा मोदीलाई साउदी अरबको सर्वोच्च नागरिक सम्मान राजा अब्दुलअजीज साशले सम्मानित गरियो । शाही दरबारमा राजा सलमान बिन अब्दुलअजिजले आफैं मोदीलाई उक्त सम्मान दिएका थिए । आधुनिक साउदी राज्यका संस्थापक अब्दुलअजिज अल साउदको नाममा यो सम्मान राखिएको छ । साउदी अधिराज्यसँग निकटवर्ती सम्बन्ध बनाएर मोदीले रियाद तथा इस्लामाबादबीचको सम्बन्ध खुकुलो पारिदिएका छन् ।
साउदी युवराजले फेब्रुअरी २०१९ मा भारतको भ्रमण गर्दा दुई देशले संयुक्त वक्तव्य जारी गरेर आतंकवादलाई कडा शब्दमा निन्दा गरे अनि पुलवामा आक्रमणको त झन् नामै लिएर भर्त्सना गरे ।
रियादले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै संयुक्त वक्तव्य निकालेर पाकिस्तान प्रायोजित आतंकवादको निन्दा गरेको थियो ।
यस्तोमा पाकिस्तानलाई समर्थन गर्ने मुलुक चीन मात्र हो । भारतको उदय हुँदा असुरक्षित अनुभव गर्ने मुलुक पाकिस्तानपछि चीन नै हो । पाकिस्तानका परराष्ट्रमन्त्री कुरैशीले चिनियाँ नेतृत्वसँग भारत सरकारको धारा ३७० खारेजी निर्णयका विषयमा छलफल गर्ने अपेक्षा छ ।
उनी परराष्ट्रसचिव सोहेल महमूद तथा अन्य उच्च अधिकारीसँगै बेइजिङ गएका छन् र चिनियाँ नेतृत्वलाई परिस्थितिका बारेमा बताउनेछन् ।
द टाइम्स अफ इन्डियाबाट