
काठमाडौं – भारतको मध्य प्रदेशमा रहेको एक बाघ आरक्ष क्षेत्रनजिक च्याउ टिपिरहेका एक विद्यालय शिक्षकलाई मंगलवार बाघले घिसार्दै लगेर खाइदिएको छ ।
मनोज धुर्वे नामक २३ वर्षीय ती शिक्षकको टाउको र गोडा मात्र फेला परेको थियो । मंगलवारको साँझ उनको भौतिक अवशेष जंगलको घटना भागमा फेला परेपछि उक्त क्षेत्रमा त्रासको वातावरण छाएको थियो ।
विगत पाँच वर्षमा बाघको शिकार बनेका धुर्वे दोस्रा शिक्षक हुन् ।
उनी पेंच बाघ आरक्षको जंगल छेउमा बिहान ११ बजे च्याउ टिप्न गएका थिए । तर साँझ परिसकेपछि पनि उनी फर्केनन् ।
गाउँलेहरू चिन्तित भए र उनलाई खोज्न थाले । उनीहरूले उनका चप्पल राति साढे ८ बजे फेला पारे ।
त्यसपछि उनीहरूले घिसारिएको निशान पछ्याउँदै जाँदा उनको भौतिक अवशेष फेला पारे ।
खवासा जंगल परिसरलाई यसको सूचना दिइयो र एक खोजी टोलीले बाघको खोजी गर्यो । बाघ अहिलेसम्म फेला परेको छैन ।
आरक्षमा बाघको संख्या बढेकाले बाघहरू जंगलको छेउछाउमा आइपुगेको भन्दै स्थानीयहरू त्रसित बनेका छन् ।
बाघ फेला पारेर त्यसलाई सुरक्षित स्थानमा लग्ने आश्वासन अधिकारीहरूले गाउँलेलाई दिएका छन् ।
धुर्वेको परिवारलाई आर्थिक सहायता दिइने पनि उनीहरूले बताएका छन् ।
एजेन्सी