
सुर्खेत - कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले संविधानले सबैका अधिकार सुरक्षित गरेको बताएकी छिन् ।
शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरिएको आदिवासी जनजाती महासंघको २५ औं अन्तर्राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै मन्त्री केसीले संविधानमा राम्रा उपलब्धी भएको बताइन् ।
‘हाम्रो संविधानले सबै जात-जाती, धर्म, लिंगलाई धेरै अधिकार दिएको छ,' उनले भनिन्, ‘त्यसैलाई कार्यान्वयन गरेर जाऔं । सबै मिलेर संविधान अनुरूप काम गरौं । समृद्ध समाज निर्माण सम्भव छ ।’
मन्त्री केसीले लोक सेवा आयोगको विवाद सर्वोच्चमा गएका कारण संघीय सरकारले थप काम कारवाही अघि बढाउन नसकेको बताउँदै संघीय सरकारको बचाउ गरेकी छिन् । ‘सर्वोच्चमा गइसकेको मुद्दालाई संघीय सरकारले तलमाथि गर्न सक्दैन,’ उनले भनिन्, ‘सर्वोच्च अदालत सम्मानीत संस्था भएका कारण सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’
मन्त्री केसीले सबै जात-जातीले कर्णाली बनाउन भूमिका खेल्नुपर्ने बेला आएको बताइन् । ‘आउनुस् सबै मिलेर कर्णालकिो मुहार फेर्न लागौं,' मन्त्री केसीले भनिन्, ‘समृद्ध कर्णाली बनाउन सम्भव छ ।’
उनले कर्णालीमा पर्याप्त सम्भावना भएको बताउँदै सहकार्य गरेर अघि बढ्न अनुरोध गरिन् ।