
काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी अधिकृत अध्ययनशील हुनुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रदीपकुमार श्रेष्ठद्वारा लिखित ‘द ल अफ इभिडेयन्स’ नामक पुस्तकको शुक्रवार विमोचन गर्दै उनले प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले संगठनबाट सिकेको अनुभव, अपराध अनुसन्धानमा पुर्याएको योगदान तथा मेहनतको प्रशंसा गरेर प्रकाशित पुस्तकलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका अधिकृत अध्ययन तथा लेखनमा पनि आकर्षित भइरहेको उल्लेख गर्दै संगठनको प्रतिनिधित्व गरी समय सान्दर्भिक पुस्तक प्रकाशन भएको बताए ।
नेपाल बार एशोशिएशनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रमाणमुखी एवं वस्तुगत प्रमाण संगलन गरी पीडितलाई न्याय प्रदान गर्ने कार्यमा कानून कार्यान्वयन गर्ने निकाय एकवद्ध हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा सशक्त अनुसन्धानका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे ।