
दाङ – जिल्लामा हुने उपनिर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ ।
दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’ र घोराही उपमहानगरपालिका–१६ मा उपनिर्वाचन हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–१६ मा २ मतदानस्थल रहनेछन् । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिकामा १०, दंगीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा ९ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए ।
प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नम्बर १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति तय गरेको छ ।
१७ हजार मतदाता थपिए
दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । विक्रम संवत् २०७४ मंसिरमा भएको संघीय र प्रदेशको निर्वाचनमा ३ लाख ४५ हजार ६३३ मतदाता थिए । हाल ३ लाख ६२ हजार ९४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
हाल जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरू भएको छ ।
तत्कालका लागि मतदाता नामावली संकलनको काम भइरहेको र अन्य काम केन्द्रको निर्देशनअनुसार हुने कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिए ।