१९ असार २०८३, शुक्रबार

स्रोत बाँडफाँडमा स्थानीय सरकारबीच टसल, बालुवाको पैसामा किचलो !

साउन २६, २०७६
स्रोत बाँडफाँडमा स्थानीय सरकारबीच टसल, बालुवाको पैसामा किचलो !
प्रतिकात्मक तस्वीर

धनगढी– कैलालीको चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाबीच बालुवा खोला र काली खोलाको स्रोतमा विवाद देखिएको छ। चुरेले दुवै खोलाको ठेक्का लगाएको थियो। गौरीगंगाले त्यसविरुद्ध राष्ट्रपति चुरे संरक्षण समितिमा उजुरी दिएको छ। दुवैले खोलाबाट प्राप्त हुने स्रोतमा दाबी गरेका छन्।

‘गौरीगंगाले उजुरी दिएपछि चुरे संरक्षण समितिले उत्खनन् रोक लगाएको छ’, चुरेका अध्यक्ष धनबहादुर रोक्का मगरले भने, ‘हाम्रो सिमानाभित्रका अन्य नदीजन्य पदार्थ उत्खननमा पनि रोक लगाउने कार्य हुन थालेको छ।’

गौरीगंगाका मेयर भीमबहादुर देउवाले भने चुरेले ठेक्का लगाएको क्षेत्र आफ्नो तहअन्तर्गत पर्ने बताए। ‘गौरीगंगाको सिमाना पर्ने स्थानबाट जबर्जस्ती नदीजन्य पदार्थ उत्खनन् गर्न थालेपछि त्यसो नगर्न आग्रह गरेका हौं’, उनले भने।

मोहन्याल गाउँपालिकाले चुरे भएर बग्ने खोलानालामा आफ्नो अग्राधिकार भएको दाबी गरेको छ। मोहन्यालसँगै जोडिएका लम्कीचुहा, घोडाघोडी र गौरीगंगा नगरपालिकाका तथा बर्दगोरिया गाउँपालिकाबीच पनि चुरे क्षेत्र भएर बग्ने नदीको स्रोतमा विवाद भइरहेको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

कैलालीका दुई गाउँपालिका चुरे र मोहन्याल चुरेमा पर्छन्। मोहन्यालका अध्यक्ष नवलसिंह रावलले चुरे क्षेत्रमा पर्ने सबै खोलानालामा आफ्नो तहको अग्राधिकार रहने बताए।

लम्की चुहा, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि भने ती खोलानाला आफ्नो भूभागमा पर्ने बताउँछन्। ठेक्का लगाउन पाउनुपर्ने दाबी यी तहका जनप्रतिनिधिले गर्दै आएका छन्। जानकी गाउँपालिका र लम्कीचुहाबीच कर्णाली नदी र गोराङ्गे खोलाको स्रोतमा विवाद देखिएको जिसस संयोजक सूर्यबहादुर थापाले बताए।

salt training

कमेन्ट गर्नुहोस्