२७ असार २०८३, शनिबार

प्रचण्डको भाषणलाई लिएर नेकपाका दुई युवा नेताबीच जुहारी

प्रचण्डको भाषणलाई लिएर नेकपाका दुई युवा नेताबीच जुहारी

काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंग्याउन शीर्ष नेताहरूबीच सकसपूर्ण स्थिति रहेका बेला युवा नेताहरू भने एक-आपसमा जुहारी खेलिरहेका छन् ।

नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि 'लपेटा' खाए नखाएको विषयमा शनिवार राति सामाजिक सञ्जाल फेसबुकमा भद्दा टिप्पणी गरेका थिए ।

केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले आफूले १० वर्षे विद्रोहको नेतृत्व गरेपनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागी नभएको बताएका थिए ।

आफ्ना अध्यक्ष प्रचण्डको उक्त भनाइमाथि टिप्पणी गर्दै थापाले भनेका छन्, 'आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।'

थापा यतिमा मात्र रोकिएनन्, प्रचण्डमाथि थप कडा टिप्पणी गर्दै भने, 'हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ?'

आफ्ना अध्यक्षमाथि थापाको यस्तो टिप्पणी आएपछि अर्का केन्द्रीय सदस्य तथा नेकपाका युवासंगठनका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा'ले यस्तो गाली फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाउन सुझाव दिए ।

आइतवार फेसबुकमै एक स्ट्याटस लेख्दै दीपशिखाले केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण सह्य नहुने बताएका छन् । 'अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ,' दीपशिखाले भनेका छन्, 'हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो ।' 

दीपशिखाको टिप्पणीमा थप प्रतिक्रिया दिँदै थापाले दादागिरी स्वीकार्य नहुने भन्दै अर्को टिप्पणी सामाजिक सञ्जाल फेसबुकमै दिन भ्याएका छन् । 'दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हास्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !'

पूर्वएमाले पक्षका थापा पटक-पटक एकताविरोधी अभिव्यक्ति दिएर चर्चामा आइरहन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्