
काठमाडौँ - राजधानीमा ट्याक्सीले आम जनतालाई लुटपाट गरिरहेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद आशाकुमारी बिकले संसदमा आवाज उठाएकी छिन् ।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद बिकले बुटवलबाट काठमाडौँ आउने भाडाभन्दा कलङ्कीबाट बानेश्वर जाने भाडा महँगो भएकोमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
'बुटवलदेखि काठमाडौँ ५ सयमा बस चढेर आउन सकिन्छ तर कलङ्कीदेखि बानेश्वरसम्म ट्याक्सीले ६ सय भाडा लिन्छ,' प्रतिनिधिसभामा गुनासो गर्दै सांसद बिकले प्रश्न गरिन्, 'यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?'
सरकारले मिटर चलाउने आदेश गरेको भएतापनि ट्याक्सी ड्राइभरहरूले नमान्ने उनको गुनासो छ । 'सरकारले मिटर चलाउने आदेश गरेको भनेतापनि ट्याक्सी ड्राइभरले हामी मर्कामा छौं मिटरमा हिंड्न सकिँदैन भनेर मुखमा आएको बोलेका छन्,' उनले भनिन्, 'गाउँबाट आएका नयाँ मान्छे र बिरामी शिकार बनेका छन् ।'
सांसद बिकले यसको तत्काल निकास हुनुपर्ने भन्दै संसदमा आवाज उठाएकी हुन् । उनले भनिन्, 'यसको निकास कहिले आउँछ ? ट्याक्सी साहु मर्कामा भएको भए सरकारले छलफल गर्नुपर्यो होइन भने यो लुटपाटको अन्त्य गरिनुपर्यो ।'