काठमाडौं – जम्मु–कश्मीरमा धारा ३७० हटाइएपछि लगाइएको कर्फ्युका बीच ईद मनाइएको छ ।
कुनाकुनामा सुरक्षाकर्मी तैनाथ गरिएको छ र यसैबीच कश्मीरीहरूले ईद मनाएका छन् । सोमवार बिहान श्रीनगर समेत अन्य शहरमा मानिस ईदको नमाज पढ्न मस्जिद पुगे । प्रशासनले मानिसहरूलाई नमाज पढ्नका लागि धारा १४४ खुकुलो पारेको छ ।
श्रीनगरमा स्थानीयहरूले प्रहरीहरूसँग ईद मनाएको दृश्य सार्वजनिक भएको छ । मानिसहरू प्रहरीसँग गला पनि मिलेका थिए । यस क्रममा प्रहरीहरूले अनेकौं मस्जिदमा मिठाइ बाँडेका थिए ।
भारी संख्यामा मानिसहरूलाई भेला हुन प्रतिबन्ध लगाइएको भए पनि अलिअलि गरी मानिसहरूलाई भेला हुन दिइएको थियो ।
ईदको दिन बजार खोल्न दिइएको थियो र मानिसहरू सजिलै बाहिर हिँड्न पाएका थिए । तर बिहान ईदको नमाज सकिएपछि फेरि प्रतिबन्ध लगाइएको छ । अहिले धारा १४४ मा कडाइ गरिएको छ ।
श्रीनगरका डेभलपमेन्ट कमिस्नर शाहिद चौधरीले कश्मीरमा ईदका लागि ढिलाइ फिर्ता लिइएको छ ।
कश्मीरमा मोबाइल फोन, इन्टरनेट र टीभी केबलमा रोक लगाइएको छ । त्यसो त जम्मुमा धारा १४४ हटाइएको छ र केही क्षेत्रमा फोन सुविधा पनि चालु गरिएको छ । अहिले मोबाइल कलिङ सुविधा मात्र दिइएको छ ।
एजेन्सी