
अर्घाखाँची – सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित चुनढुंगा उत्खननबाट प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
खानी प्रभावित क्षेत्रमा बिग्रने वातावरणलाई सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो ।
भूगर्भ सिमेन्ट प्रालिले चुनढुंगा कपिलवस्तुको चन्द्रौटामा लगेर भूगर्भ सिमेन्ट उत्पादन गर्दै आएको छ । चुनढुंगा उत्खननबाट प्रभावित क्षेत्रमा रहेको सामुदायिक वनमा वातावरणीय सन्तुलन कायम गर्न भूगर्भ सिमेन्टले वृक्षारोपण गरेको हो ।
चुनढुंगा उत्खननले वातावरणीय क्षेत्रमा पार्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले त्यहाँ रहेको सामुदायिक वनमा वृक्षारोपण गरिएको भूगर्भ सिमेन्टका सञ्चालक इन्द्र बानियाँले बताए ।
सो वनमा दाल चिनी, पैँयु, सल्ला, लाकुरी लगायतका झण्डै १ हजार बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टुल्कबहादुर थापाले बताए ।
खानी प्रभावित क्षेत्रमा वातावरणलाई सन्तुलन कायम गर्दै स्थानीयसँग हातेमालो गरेर ढुंगा उत्खनन् गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले बताए । उनले खानी उत्खननबाट आएको रोयल्टी स्थानीय क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणमा खर्च गर्नुपर्ने उल्लेख गर्दै भूगर्भ सिमेन्ट प्रालिले रोजगारीमा पनि स्थानीयलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
चुनढुंगा उत्खननले खाँचीकोटमा बढी प्रभाव पार्ने भएकाले यस क्षेत्रमा गरिने कामको गुणस्तरीय र पारदर्शी हुनुपर्ने सन्धिखर्क–७ का वडाध्यक्ष प्रितम थापाको भनाइ छ । उनले खानी उत्खनन् गर्दा वडा समिति र स्थानीयसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।