काठमाडौं– सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर प्रधानमन्त्री केपी शर्मा ओली सोमवार स्वदेश फर्केका छन् ।
स्वास्थ्य परीक्षणका लागि गत १८ गते शनिवार सिंगापुर गएका प्रधानमन्त्री स्वदेश फर्किंदा खासै प्रतिक्रिया जनाएनन् ।
‘मेरो स्वास्थ्य अवस्था हेर्दा नै थाहा भयो होला नि !’ प्रसन्न मुद्रामा देखिएका ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।
प्रधानमन्त्री स्वदेश फर्किनुअघि उनका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको अब्बल स्वास्थ्य परीक्षण भएको सन्देश ट्वीटरमा लेखेका थिए ।
‘प्रधानमन्त्रीज्यूको अब्बल स्वास्थ्य परीक्षणको लागि एनयूएचलाई धन्यवाद ! हार्दिक आतिथ्यताका लागि सिंगापुर सरकार र जनताप्रति आभार ।’ रिमालले लेखेका छन् ।
ओलीको स्वागतका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री सहित सरकारका मन्त्रीहरू, सांसद तथा नेकपा नेता/कार्यकर्ता विमानस्थल पुगेका थिए ।
ओलीको स्वागतमा बिरलै देखिने सचिवालय सदस्य वामदेव गौतमपनि ओलीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
विभागको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद भइरहेको समयमा विमानस्थलमा गौतमको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गौतमले नेकपाको संगठन विभागको जिम्मा पाउने लगभग पक्का भइसकेको छ । विभाग गठनमा सहमति कायम गर्न भोलि सचिवालय बैठक बस्दैछ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश जाने भएपछि नेकपा सचिवालय बैठक साउन १२ देखि १५ दिनका लागि स्थगित गरिएको थियो ।