
काठमाडौं – कोलम्बियाको वायुसेनाका दुई सदस्यले देशको झण्डा बेरेर हवाई स्टन्ट देखाउँदै गर्दा हेलिकप्टरमा झुण्ड्याइएको डोरी चुँडिएर ज्यान गुमाउनुपरेको छ ।
ती दुई सैनिक हेलिकप्टरको डोरीमा झुण्डिएर मध्य आकाशमा स्टन्ट गरिरहेका थिए । परम्परागत मेडेलिन फूल मेलामा परेड देखाउने क्रममा आइतवार यो घटना भएको हो ।
कोलम्बियाको रक्षा मन्त्रालयले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको बताए ।
दुर्घटनालगत्तै शहरको विमानस्थल बन्द गरिएको थियो ।
सामाजिक सञ्जालमा राखिएका भिडियोमा दुई सैनिकको लडेर मृत्यु भएको देखिन्छ । उनीहरू ओलाया विमानस्थलमा अवतरण गर्न लागेका थिए ।
कोलम्बिया वायुसेनाले पीडितद्वय जेसुस मोस्केरा र सेबास्टियन गाम्बोआ रिकाउर्टे भएको जनाएको छ ।
भिडियोमा ती दुईजनामध्ये एक झण्डाको माथिल्लो भागमा अनि अर्का चाहिँ तल्लो भागमा झुण्डिएको र दुईमध्ये एक हेलिकप्टरको डोरीले उनीहरूलाई सम्हालेको देखिन्छ ।
अचानक डोरी चुँडिन्छ अनि दुवैजना भुइँमा बजारिन्छन् ।
वायुसेनाका एक प्रवक्ताले दुर्घटनामा शोक प्रकट गरिएको र सैनिकका परिवारलाई समवेदना पठाएको जानकारी दिए ।
रक्षामन्त्री गिलेर्मो बोटेरोले सैनिक कर्मचारीहरूका हवाई शोहरू स्थगित गर्ने घोषणा गर्दै ती दुई कमान्डोहरू हेलिकप्टरबाट कसरी लडे भन्ने कारण खोजिने बताए ।
एजेन्सी