२३ जेठ २०८३, शनिबार

टेलिकमको अन्तर्राष्ट्रिय रोमिङमा भारी छूट, पोस्टपेडको धरौटी रकम पनि घट्यो

टेलिकमको अन्तर्राष्ट्रिय रोमिङमा भारी छूट, पोस्टपेडको धरौटी रकम पनि घट्यो

काठमाडौं– नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवामा भारी छूटको घोषणा गरेको छ । साथै पोस्टपेड प्रयोगकर्ताका लागि लाग्ने धरौटी शुल्क पनि ३० हजारबाट घटाएर १० हजारमा झारिएको छ ।

नेपाल टेलिकमले सन् २००१ बाट जीएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ ।

हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । 

ती मध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । 

कम्पनीले ०७६ बैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । 

जीएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रुपैयाँ मात्र लाग्छ । 

यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने जम्मा २४ रुपैयाँमा विश्वभर सन्देश एसएमएस पठाउन सकिनेछ । साथै निशुल्क सन्देश पनि प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 

यसका साथै उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ मात्र लाग्ने छ ।

यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जीएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ । 

कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । साथै कम्पनीका जीएसएम प्रीपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।  

रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाल लगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । 
यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ । 

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि *1415# डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

पोष्टपेड मोबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np/pages/view/roamingमार्फत यस सम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्