
काठमाडौं – अफिस टाइममा ट्राफिक जाममा फसिँदा उडेर जान पाए हुन्थ्यो भन्ने आशा धेरै मानिसले राख्ने गर्छन् । बेलायतका एक प्यारामोटर ग्लाइडरले यसलाई सत्य साबित गरेका छन् ।
मैदानको बीचमा उभिएका टम प्राइडो–ब्रुनले पिठ्युँमा ठूलो जालीदार घेरा र प्यारामोटर ग्लाइडरले जोडिएका पट्टी बाँधेका छन् ।
उनी काँधमाथिबाट डोरो तानेर पछि बाँधिएको मोटर चलाउँछन् । मोटर अन हुनेबित्तिकै पिठ्युँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्छ ।
प्राइडो–ब्रुन मैदानमा दौडन शुरू गर्छन् अनि १० देखि १२ कदम दौडिनेबित्तिकै हावामा उड्न थाल्छन् ।
उनको प्यारामोटर ग्लाइडर त्यतिखेरसम्म काम गर्न थाल्छ । त्यसले उनको शरीरको बोझ उठाइदिन्छ ।
टमको कार्यालय दक्षिणपश्चिमी बेलायतको विल्टशायरमा छ । मौसम सफा हुँदा उनी यसरी नै सधैं कार्यालय जान्छन् ।
उनी भन्छन्, ‘पाइलटका रूपमा हरेक बिहान म झ्यालका पर्दा हटाएर बाहिरको मौसम हेर्छु । बिहान सफा भयो भने मेरो गाडी चलाउन आनन्द आउँछ ।’
टम शहरमा बाइक चलाउँछन् वा पैदलै टहल्न मन पराउँछन् । तर उड्दा उनलाई बढी रोमाञ्चकारी र प्रेरणादायक अनुभव हुन्छ ।
घरबाट कार्यालय जानका लागि उनी शेरबोर्नदेखि डोर्सेटसम्म ३० किलोमिटर उड्छन् ।
पंखामा जोडिएको इन्जिनतर्फ देखाउँदै उनी भन्छन्, ‘ठूलो इन्जिन आवश्यक हुन्छ र त्यसमा चारदेखि पाँच लिटर इन्धन लाग्छ ।’
उनी लगभग ५० किलोमिटर प्रतिघन्टाको गतिमा उड्छन् । तर केही प्यारामोटर ग्लाइडर यसभन्दा पनि बढी गतिमा उड्न सक्छन् ।
गाउँमाथि हुँदै उड्दा उनले सुन्दर दृश्य समेत हेर्न पाउँछन् ।
बीबीसी हिन्दीबाट