
काठमाडौं, १५ चैत — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी चीनको साताव्यापी भ्रमणमा छन् । सोमवार उनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटघाट गरे ।

यो भेटघाटको विषयमा समाचार बनाउँदै चिनियाँ समाचार संस्था सिन्ह्वाले चीनका राष्ट्रपतिबाट प्रधानमन्त्री प्रचण्डलाई एक सडक एक पेटी (ओबीओआर)को हिस्सा बन्न आह्वान गरेको खबर प्रकाशन गरेको छ ।
ओबीओआरलाई उपयोग गरेर नेपाल र चीनले सँगै काम गर्ने अवसर गुमाउन नहुनेमा सीको जोड थियो । अन्तःसम्पर्क, खुल्ला व्यापार, कृषि, उत्पादन क्षमता, ऊर्जा र भूकम्पपछिको पुनर्निर्माणमा सहकार्यका लागि चीनले प्रस्ताव गरेको सिन्ह्वाले लेख्यो ।
चीन र नेपालले सरकारी तथा राजनीतिक पार्टीका सबै तहमा निकट सम्बन्ध बनाएको उल्लेख गर्दै सीले दुई देशका बीच थप मैत्री सम्बन्ध विकसित गर्न प्रयास गर्नुपर्ने बताए ।
त्यस्तै चाइना डेलीको समाचारमा राजनीतिक विश्वास बढाएर अनि साझा स्वार्थका प्रमुख विषयमा एकअर्कालाई सहयोग गर्नसमेत सीले जोड दिएको कुरा उल्लेख छ । दुई देशले एकअर्काकोमा लगानी र स्वस्थ द्विपक्षीय व्यापार बढाउनुपर्ने सीको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले चीनलाई असल छिमेकी बताउँदै चीनले नेपाललाई लामो समयदेखि गरिरहेको सहयोग र भूकम्पपछि पु–याएको बहुमूल्य सहायतालाई उच्च मूल्यांकन गरेको बताएको सिन्ह्वा लेख्छ ।
नेपाल एक चीन नीतिमा अडिग रहेको र नेपाली भूमिमा चीनविरोधी गतिविधि गर्न नदिने प्रचण्डले बताएका थिए ।
नेपालले चीनको ओबीओआर अभियानलाई समर्थन गर्ने र चीनसँग व्यापार, लगानी, यातायात, भौतिक निर्माण, पर्यटन, उड्डयन लगायतका क्षेत्रमा मिलेर काम गर्न चाहेको बताएको चाइना डेलीको समाचारमा उल्लेख छ ।
त्यस्तै प्रचण्डले चीनको अन्तर्राष्ट्रिय सम्बन्धमा महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको र यसमा चीनसँग मिलेर सहकार्य गर्न नेपाल इच्छुक रहेको समेत बताएका थिए ।