
काठमाडौं – चिनियाँ मुख्यभूमिसँग जोडिएको सिमानामा तैनाथ चिनियाँ सेनाले आफूहरू १० मिनेटभित्र हङकङ पुग्ने चेतावनी बुधवार दिएको छ ।
हजारौं चिनियाँ सैनिकहरूले हङकङपारिको शेनझेन शहरको एक खेलकुद मैदानमा रातो झण्डा फहराउँदै परेड गरेको एएफपीका एक पत्रकारले लेखे ।
शेनझेनको रंगशालामा सशस्त्र वाहनहरू पनि देखिएका थिए । हङकङमा विगत १० हप्तादेखि भइरहेको विरोध प्रदर्शन रोक्नका लागि चीनले हस्तक्षेप गर्न सक्ने आशंका गरिएको छ ।
मंगलवार लिइएका भूउपग्रहीय तस्वीरमा बेइजिङले शेनझेनमा ५०० वटा जति सशस्त्र वाहन तैनाथ गरेको देखाएको छ ।
हङकङ सीमामा चिनियाँ बलहरूको गतिविधिले आफूलाई चिन्तित बनाएको अमेरिकाले बुधवार बताएको छ । उसले बेइजिङलाई हङकङको स्वायत्तताको सम्मान गर्न आग्रह गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका राष्ट्रपति शी चिनफिङलाई प्रत्यक्ष वार्ताका लागि निम्तो गरेका छन् ।
एजेन्सी