
काठमाडौं – रोमानियाको एक मानसिक अस्पतालमा एक रोगीले सलाइन पानी चढाउने स्ट्यान्डले हिर्काएर पाँचजनाको हत्या गरेका छन् अनि कैयौंलाई घाइते बनाएका छन् ।
सापोका शहरको अस्पतालमा आइतवार ३८ वर्षीय मानसिक रोगीले तीनजनालाई घटनास्थलमै मारेका थिए ।
दुई अन्य व्यक्तिको उपचारका क्रममा मृत्यु भयो ।
अस्पतालका कर्मचारीले लापरवाही गरेकाले यो घटना भएको भन्दै अधिकारीहरूले उनीहरूविरुद्ध फौजदारी अभियोग लगाउने सम्बन्धमा विचार गरिरहेका छन् ।
अस्पताल व्यवस्थापक भियोरिका मिहालास्कुले घटनापछि राजीनामा दिइन् । यो सब घटना एक मिनेटभित्र भएको उनको भनाइ छ ।
मिहालास्कुले रोगीको लक्षण हेर्दा उनले यो घटना गराउन सक्ने जस्तो नलागेको बताइन् ।
प्रोटीभीका अनुसार, ती आक्रमणकारी घटनापछि भाग्न खोजेका थिए तर उनलाई एक प्रहरी अधिकारीले रोकेका थिए ।
रोगीहरूलाई लट्ठ्याएर राखिएको वा उनीहरू ओछ्यानमा पल्टिएको अवस्थामा अस्पतालका दुईवटा कोठामा यो आक्रमण गरिएको थियो ।
आक्रमणकारीलाई बिहीवार मात्र मदिरा सेवनको समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो । उसलाई सही औषधि दिइएको नदिइएको कुरा खुलेको छैन ।
उनलाई निगरानी कक्षमा राखिएको तर अर्को रोगी आएपछि अन्तै सारिएको थियो ।
आक्रमणको मकसद खुलेको छैन ।
एजेन्सी