
रुकुमपूर्व – भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
गाबाङका ७ घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै ६/६ उन्नतजातका बाख्रा वितरण गरिएको हो ।
जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ । युनाइटेड मिसन टु रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को प्रविधिक सहयोगमा बाख्रा वितरण गारिएको हो ।
गाबाङका विपन्न परिवार, महिला, व्यवसाय गर्न इच्छुक तथा बाख्रापालन व्यवसायसम्बन्धी तालीम लिएका सात घरपरिवार छनोट गरी प्रत्येक घरपरिवारलाई गोठ निर्माण गरिदिएको र ६/६ वटाका दरले बाख्रा वितरण गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताए ।
उनीहरूको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले अनुदानमा गोठ निर्माणसहित बाख्रा वितरण गरिएको उनले बताए । १ महिनाअघि नै ४० सम्म बाख्रा अटाउन सक्ने गोठ तयार बनाइसकेको मिक नेपालले जनाएको छ । प्रत्येक गोठ निर्माणका लागि ५४ हजार रुपैयाँ र बाख्रा खरीदका लागि ५० हजार रुपैयाँ खर्च भएको छ ।
१ घरलाई १ लाख ४ हजार रुपैयाँ बराबरको लगानी गरिएको छ । अनुदानमा गोठ निर्मानसँगै बाख्रा पाएपछि कृषक हर्षित भएका छन् । ज्योति बुढाले भनिन्, ‘अनुदानमा गोठ र बाख्रा पायौं, अब व्यावसायिकरुपमा बाख्रा पाल्छौं र यसैबाट जीविकोपार्जन गर्छौं ।’
आफूहरूमाथि गरिएको यो लगानीलाई खेर जान नदिने उनीहरूले बताएका छन् । जिल्लामा खसीबोकाको मासुको माग बढ्दै गइरहेका बेला बाख्रापालन व्यवसायबाट राम्रो लाभ लिन सकिने मिक नेपालका अध्यक्ष घर्तीले बताए ।
लेखा परीक्षण शुरू
रुकुमपूर्वमा लेखा परीक्षण शुरू भएको छ । जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहको लेखा परीक्षण शुरू गरिएको हो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा जिल्लामा हुने लेखा परीक्षण यही भदौ ३० गतेसम्म चल्ने बताइएको छ ।
लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयबाट जिल्लामा आएको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुमकोटमा डोर कार्यालय स्थापना गरेको छ ।
संघीयताले जन्माएको नयाँ जिल्ला रुकुमपूर्वमा सरकारी कार्यालय स्थापना भएसँगै लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयको टोली रुकुमपूर्व पुगेको प्रजिअ शर्माले बताए । लेखा परीक्षणका लागि महालेखा परीक्षक निर्देशक कृष्णप्रसाद ज्ञवाली, लेखा परीक्षण अधिकारी लुमविक्रम शाही, लेखा परीक्षण अदिक्षक फुलमाया लामा र सविन पङ्गेनीसहितको टोलीले लेखा परीक्षण गर्ने बताइएको छ ।