३१ जेठ २०८३, आइतबार

दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा

दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा

खाँदबारी – संखुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले ४ बीटीएस टावर जडान गरेको छ ।

मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका ४ स्थानमा बीटीएस टावर थपिएपछि स्थानीयलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट वञ्चित स्थानीयलाई सहज भएको हो । 

दुर्गमको समस्यालाई मध्यनजर गर्दै ४ स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताए । टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको जनाएको छ । 

पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएका मोबाइल फोन चल्न नसकेपछि स्थानीयले टावरको माग गरेका थिए । मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ ।     

खाँदबारीमा रहेको टेलिकम शाखाले संखुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिरहेको प्रमुख भट्टराईले बताए ।

अहिले उक्त स्थानमा सौर्य उपकरणका भरमा बीटीएस प्रणालीमार्फत सेवा सञ्चालन गरिएको हो । भोटखोलाको किमाथांकामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्यबत्तीकै भरमा बीटीएसबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ ।

उनका अनुसार जीएसएम ८, सीडीएमए ५ र ल्याण्डलाइन सेवा ५ स्थानबाट सञ्चालन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्