०४ असार २०८३, बिहीबार

वडाबाटै पाए ५३१ जनाले अपाङ्गता परिचयपत्र

वडाबाटै पाए ५३१ जनाले अपाङ्गता परिचयपत्र

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकाका अपाङ्गता भएका व्यक्तिले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको सहजताका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर गरेपछि उनीहरूले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका हुन् ।

नगरपालिकाले १२ वडाका ५३१ लाई अपाङ्गता परिचयपत्र वितरण गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिए । उनका अनुसार ‘क’ वर्गका १३०, ‘ख’ वर्गका २०५, ‘ग’ वर्गका १२४ र ‘घ’ वर्गका ७२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

वडा नम्बर १ मा ४४, २ मा ४५, ३ मा ५०, ४ मा २४, ५ मा ३९, ६ मा ४०, ७ मा ४७, ८ मा ३३, ९ मा ५६, १० मा ६३, ११ मा ५६ र वडा नं १२ का ३४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गता परिचयपत्र लिन छुटेका व्यक्तिलाई पुनः शिविर गरेर परिचयपत्र दिइने नगरपालिकाले जनाएको छ । 

स्थानीय तहमा अपाङ्गता परिचयपत्र वितरण गर्ने अधिकार आएपछि नगरपालिकाले पहिलोपटक वडा तहमै पुगेर परिचयपत्र वितरण गरेको नगरपालिकाका उपप्रमुख एवं अपाङ्गता समन्वय समितिका संयोजक सविता रसाइलीले जानकारी दिए ।

सरकारले अपाङ्गता भएका व्यक्तिलाई क, ख, ग र घ गरी चार समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अतिअशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेंलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङको परिचयपत्र प्राप्त गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्