
काठमाडौं – बाबा राम रहीम र आसाराम बापूपछि हरियाणाका अन्य एक बाबाविरुद्ध महिलामाथि यौन शोषणको र नाबालकमाथि बलात्कारको आरोप लागेको छ ।
हरियाणाको गुरुग्रामस्थित बहेडा कला गाउँमा बाबा ज्योतिगिरी महाराजमाथि अनेकौं महिलामाथि यौन शोषणको आरोप छ । उनीविरुद्ध उजुरी दर्ता गरिएको छ ।
बाबा ज्योतिगिरीका अश्लील भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । गुरुग्राम पुलिसको साइबर सेलले भिडियो जाँचिरहेको छ । भिडियो शेयर गर्नेहरूका विरुद्ध एफआईआर पनि दर्ता गरिएको छ ।
भिडियो भाइरल भएपछि बाबा आश्रमबाट गायब छन् । एक पीडित महिलाले प्रहरीसमक्ष उजुरी दर्ता गरेकी छन् ।
ज्योतिगिरी महाराज पहिला आईएएस अधिकारी रहेको र पछि वैरागी बनेको बताइएको छ । यसको पुष्टि भने भएको छैन । देशभरि यस बाबाका आश्रम छन् । हरियाणामा उनी गौशाला पनि चलाउँछन् ।
उज्जैन, काशी, गुरुग्राम र हरिद्वारमा पनि बाबाका आश्रम छन् । यौन शोषणको घटना सार्वजनिक भएपछि धेरै मानिसले बाबाविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग गरे र आश्रम पनि बन्द गर्न भने । तनाव बढ्ने देखिएपछि आश्रम वरिपरि प्रहरीको निगरानी बढाइएको छ ।
हरियाणा सरकारका अनेकौं मन्त्री र नेता बाबा ज्योतिगिरीको नजिक भएकाले उनीविरुद्ध कुनै कारवाही नभएको बताइएको छ ।
फरार बाबालाई पक्राउ नगरुन्जेल आश्रम रहेको गाउँका मानिसले विरोध प्रदर्शन गरिरहने बताएका छन् ।
एजेन्सी