अछाम – जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा बुधवार राति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधवार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य ३ घाइते भएका छन् ।
रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नम्बरको जीप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा बुधवार राति करीब साढे ८ बजेतिर सडकबाट करीब ५०० मिटर तल खस्दा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जंगीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
रातिको समयमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।