
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीवार सिंगापुर प्रस्थान गरेका छन् ।
बिहीवार अपराह्न साढे १ बजे थाई एयरबाट पत्नी राधिका शाक्य लगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ ओली सिंगापुर प्रस्थान गरेका हुन् ।
सिंगापुर प्रस्थान गरेका ओली स्वदेश फर्किने मिति भने अनिश्चित छ । चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिने जनाइएको छ ।
अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।