
स्वभावलै सोह्र/सत्र वर्षे उमेर चञ्चल हुने अझ त्यसमा पनि निम्न वर्गिय परिवार भित्रका अभाव र पिडाहरुले मलाई क्रान्ति, मुक्ति जस्ता शब्दहरु अत्यन्त प्रिय लाग्दथे ।
साहु, जिम्वालहरुको सम्पति बाँडफाड गरि हामी जस्ता एक छाक खान पनि धौ, धौ हुने गरिब किसानहरुलाई वितरण गरिन्छ रे भन्ने सुनेर म पनि युद्धतर्फ आर्कशित भएँ ।
जस्तोसुकै त्याग गर्न पनि तयार भएँ । एकछाक खान र एकसरो लाउनको लागि दिनदिनै आत्म बेच्नु भन्दा क्रान्ति र मुक्तिको लागि जीवन नै बलिदान गर्न पनि म तैयार थिए ।
जसको कारण युद्धका हरेक मोर्चामा मेरो सहभागिता उत्साहवद्र्धक र नेतृत्यदायि नै थियो । पार्टीका हरेक निर्णयलाई निशर्त पालना गर्ने सोझो र इमान्दार कार्यकर्ताको अग्र पक्तिमा मेरो नाम थियो । मैले कमाण्ड गरेका हरेक मोर्चाहरु लक्ष्यमा सफल हुदै गएका थिए ।
यसैले होला समुह भित्रको ठुलो विश्वास र भरोसा म माथि बृद्धि भएको थियो । त्यहि भरोसा र विश्वास गर्नेहरु मध्यमै सहकमाण्डर सुर्य पनि थिए ।
उनले मलाई विश्वासको साथसाथ प्रेम पनि गर्न थालेछन । युद्धका अनेकौ मोर्चाहरुमा रात दिन खट्ने क्रममा बिस्तारै उनको र मेरो साम्पियता बढ्यो । फलस्वरुप एकदिन पार्टीका धेरै सहयोद्धाहरुलाई साची राखेर हामी वैवाहिक बन्धनमा बाधियांै । विवाह कार्यक्रममा सहभागी धेरैले माकर््स र मण्डेलाको जस्तो सफल दाम्पत्य जीवन होस भनी शुभकामना दिए ।
हामी पनि बाचे एक आपसमा सुखदुख साटने मरे शहिदको दर्जामा आफनो नाम लेखाउन तम्तयार थियौ । संयोग भन्नुपर्छ , थुप्रै कठिन क्षण पार गर्नुपरे पनि शहिद हुने अवसर भने हामिलाई मिलेन ।
युद्ध समाप्ती पछि विस्तारै हाम्रो जीवनमा परिवर्तन आउन थाल्यो । सामुहिक क्याम्प छोडेर निजी कोठामा हाम्रो जीवन प्रारम्भ भयो । त्यसै विचमा म दुइ छोरीकी आमा भए ।
बिस्तारै मेरो पार्टी कामको जीम्मा पनि सुर्यलाई सुम्पिदिए । बालबच्चा र श्रीमानको रेखदेखमा मेरो जीवन बित्न थाल्यो । एक वर्षको मात्र फरकमा जन्मिएका दुइ छोरी हुर्काउने काम मेरो लागि युद्धको मोर्चा कमाण्ड गरेभन्दा पनि कठिन हुनथाल्यो ।
सुर्यको ब्यस्तता खुल्ला राजनीतिमा अझ बढेर आयो । बालबच्चाको लालनपालन देखि सुर्यका हरेक घरायासि कृयाकलापहरुको रेखदेख गर्ने जिम्मा ममा आइप–यो । म बिस्तारै चुचुराबाट शुन्यतर्फ झर्न थाले ।
मेरो उदासी देखेर कहिलेकाही सुर्य भन्दथे, यो त हाम्रो कामको विभाजन मात्र हो कीरण, तिमि घरपरिवार सम्हाल्दै छौ म पार्टीको जिम्मेवारी । सोच्थे ठिकै हो आखिर मैले गरिहेको काम पनि त समाज सञ्चालनको लागि अपरिहार्य नै त छ । आखिर दम्पतीमा सबभन्दा ठुलो प्रेम र समझदारी नै त हो ।
समय बदलिदै जादा सुर्य र मेरो जीवन स्तरमा धेरै भिन्नता आउन थाल्यो । भौेतिक परिस्थीतीले सोचाइ र चिन्तनमा पनि फरक देखिन थाल्यो । खुला राजनीतिको प्रत्यक्ष प्रभाव उनमा बढ्दै गयो । यसको परिणाम जीवनशैलीमा पनि परिवर्तन आएको अनुभुति गर्न थालीयो ।
शुरुका दिनहरुमा कुनै पनि नर्या निर्णय लिनुपर्दा हरेक पटक उनलाई मेरो सल्लाह चाहिन्थ्यो । घरमै बसिबसि पनि म पार्टीका हरेक गतिविधिमा अप्रत्यक्षरुपमा भएपनि संलग्न भइरहेकी थिए । बिस्तारै त्यसको आवश्यकता पनि उनलाई पर्न छाडेयो किनभने अव पार्टी सञ्चालनको लागि हजारौ ‘कथित’ बुद्धिजिविहरु आइपुगेका छन ।
देशभित्रबाट मात्र होइन विदेसबाट समेत उच्च शिक्षा हासिल गरेका बौद्धिकहरुको इसारामा पार्टी सञ्चालन भइरहेको छ । युद्धको भुमरीमा जुध्न पो सुर्यलाई मेरो साथ चाहिएको थियो अव उनलाई साथ दिनेको केहि कमि छैन ।
पार्टी भोजभतेरको निम्तो पनि बाक्लै आउछ । ठेक्का ,टेण्डर, सरुवा बढुवा अनेक काम गर्दा उसलाई सास फेर्ने समेत फुर्सत पनि कहा छर ? जीवनशैलीमा आएको परिवर्तन उसको शरिरले पनि राम्रैसित देखाएको छ । कहा ४० किलोको दुब्लो पातलो उ अहिले ७० किलोको भएको छ ।
सहरकेन्द्रित हाम्रो बसाइ बिस्तारै सुविधा सम्पन्न भएको छ । अझ यसपालि सुर्यले सानो दूइतले घर खरिद गरेपछि त त्यसमा थप बृद्धि भएको हो । नया पुराना साथीभाइहरुको जमघटले मात्र होइन आउरे बाउरेहरुको सम्म राम्रो भिड लाग्ने गरेको छ हाम्रो घरमा ।
सबैको सत्कारमा मुस्कुराउनु ,चिया, कफि टकारनु र सुर्यका लागि बजेका फोनका घण्टिहरु रिसिभ गर्दै मेरो धेरै समय बित्ने गर्दछ । अझ त्यसमा आफनो भनाउदो ठुलो घरको सरसफाई र बालबच्चाको रेखदेख पनि थपिदिदा त म होलटाइम्वर कार्यकर्ता भन्दा पनि ब्यस्त छू ।
त्यसैको कारण होला घरबाहिर हुने साना ठुला कुनै पनि घटनाले मलाई छुन पनि नभ्याएको । तर शुरुका दिनमा भने म पटक्कै यस्ती होइन ।
समय अनुसार चल्न परेयो भनेर हो वा किन म चलीनै रहेकी छु । सायद आम नेपाली महिलाहरु यसै गर्छन होला । ७÷८ वर्षको मेरो फरक भुमिकालाई चटक्क बिर्षने हो भने म पनि ति भन्दा पटक्कै भिन्न छैन ।
सुर्यलाई भने आफनो सामाजिक र राजनैतिक भुमिका उच्च राखि सांसद/मन्त्रि बन्ने सपनाले सताएको छ । नसताओस पनि किन आखिर उसका सहयोद्धाहरु पनि त त्यहि बाटोमा हिडिरहेका छन । त्यसैले होला उ पनि विस्तारै आत्मकेन्द्रित हुनथालेका छ ।
‘माथि र तल’ दुवै सग सन्तुलित सम्वन्ध राखी आफु अनुकुल निर्णय बनाउन उ खप्पिस छ । जिल्लामा पनि उसलाई समन्वय गर्ने नेताको रुपमा सवैले लीन थालेका छन् ।
त्यसैले होला उ प्राय राती अवेर घर फर्किन्छ । बिहान छिटै घरबाट बाहिरिन्छ । उसको व्यस्तता शुरुका दिनमा पार्टी जिम्मेवारीको कारण बताउथ्यो । तर आजकल रात्री भोजभतेरमा नै उसको बढि समय वित्न थालेको छ ।
एकदिन त उ मदिराले लठ्ठ परि अबेर राती घर आइपुग्यो । जुन मेरो सोचाई र कल्पना भन्दा धेरैे भिन्न थियो । जस्लाई मैले सहज रुपमा लिन सकिन । किन यस्तो भनेर प्रश्न मात्र के गरेकी थिए, उसले मलाई समय अनुसार चल्न नसक्ने जडसुत्रवादीको आरोप लगायो ।
आफु समय अनुरुप चलेको दावि गरेयो र भन्यो अव पुरानो सोचाइले प्रगती हुदैन । सबैसग सम्बन्ध बढाउन अलिअलि त गर्नैुपर्छनी । म छागाबाट खसे जस्तै भए । मैले बुझे अनुसार हाम्रो लक्ष्य प्राप्तीको लागि त्यो बाटो हिडनु गलत नै थियो ।
उ सांसद/मन्त्रि हुदैमा मेरो लक्ष्य पुरा हुनेवाला पनि थिएन म केवल उसकी धर्मपत्नी मात्र थिइन । यो देशकी जीम्मेवार नागरिक पनि थिए । उसलाई भन्दा बढि विश्वास गरेर मेरा पछाडी लागेका थुप्रै गरिब, दलित र असाहाय जनताको पक्ति मसँगै थियो ।
जसको भलोका लागि थोरै काम भएपनि म मनै देखि गर्न चाहान्छु । त्यसको बदलामा मलाई पद प्रतिष्ठा प्राप्त गर्ने कुुनै रहर छैन । त्यसैले सुर्यलाइ पनि कनभिन्स गर्ने कोशिस गरें । तर उ मेरो कुरा मान्न तयार थिएन ।
कीनकी उसको नजरमा म एक सामान्य गृहणी मात्र थिए ,औपचारिक अध्ययन कम भएकी एक सामान्य गृहणी ।
त्यसैले उ मलाइ उसका हरेक निर्णयमा निर्सत ताली बजाउने र पछिपछि हिडने सहयोगी मात्र बनाउन चाहान्थ्यो ।
तर म उ बराबरको हैसियत भएकी असल सहयात्री भएर जीउन चाहान्थे । यसैमा सुर्य र मेरो विचमा मतभेद बढ्यो । उ आफनो सफलतासगै जनताको मुक्ति देख्दथ्यो, म जनताको मुक्तिसगै आफनो सफलता देख्दथे ।
जसको कारण म सुर्यका हरेक भौतिक सुविधालाई चटक्क छोडेर दुइ छोरी सहित गाउ जाने निर्णयमा पुगे । यो सहि हो वा गलत त्यो त समयले नै देखाउला तर मेरो मनले शान्तिको सास भने फेरेको छ, एउटा बन्धन तोडेकोमा ।
चेतनाका अभावमा परम्परागत पेशा गर्न बाध्य गाउले जनताहरु अवश्य पनि मेरो साथमा रमाउने छन । सहरमा बस्दा मैले सिकेको पाठ पनि के हो भने साच्चै देशबाट गरिबि उन्मुलन गर्नुछ भने त्यसको थालनी गाउबाटै गर्नुपर्दोरहेछ ।
दलित, गरिब, जनजाति र महिला वर्गवाटै थाल्नुपर्दारहेछ । स्थानीय श्रोत साधनको उचित परिचालनमा नै नेपालको विकास संभव रहेछ ।
हैन भने त सरकारी, गैरसरकारी संस्थाहरुको प्रयास किन पानीमा बालुवा खन्याए झैं हुदो होत ? त्यसैले सुर्यलाई रमझम सहरमा एक्लै छाडेर गाउमा पुगि आजैदेखि कफि, अदुवा र उखुको ब्यावसायिक खेतितर्फ गाउले जनतालाई प्रोत्साहित गर्ने निर्णय मैले गरेकी छु ।
युद्धका मोर्चाहरुमा मेरो इमान्दारीता देखेर साथ दिएका गाउलेहरुले गणतन्त्र स्थापना पछि गाउको दिगो विकास गर्ने मेरो अभियानमा पक्कै पनि साथ दिनेछन ।
* तस्वीरः लेखिका भुसाल
(तत्कालित द्वन्द पछि शक्तिकेन्द्रीत पात्रहरूको आलोचना स्वरुप लेखिएको सामग्री)