
काठमाडौं–प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गरेका थिए ।
विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले सरकारको समर्थनमा रहनेलाई मात्रै विज्ञापन उपलब्ध गराउने भन्ने प्रचारसमेत गलत रहेको बताए ।
भिडियो कन्फ्ररेन्सविवाद बारे मन्त्री बास्कोटा
सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहुन सबैलाई आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे ।
“जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उनले भने, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौँ, हामी अवसरवादी बन्दैनाँै र बन्न सक्दैनौँ, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैँ इमान्दार भइराख्छौँ ।”
भिडियो कन्फ्ररेन्स जहाँबाट पनि हुनसक्ने उल्लेख गर्दै उनले यसलाई ठूलो कुरा र अनर्थका रुपमा नबुझिदिन आग्रह गरे ।
प्रमुख प्रतिपक्षी दललगायतले भिडियो कन्फ्ररेन्समा गोपनियता नहुने, राष्ट्रहित खण्डित हुने, सार्वजनिक सत्तामाथि प्रश्न उठ्ने भन्दै सरकरको चर्को आलोचना गरेका थिए । सङ्घीय संसद्मै पटकपटक सो विषयमा सरकारको धारणा माग गरिएको थियो ।
३१ प्रजिअको सरुवा
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।
मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार काठमाडौँलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ र सात उपसचिव तथा सहसचिव गरी ३१ जनाको सरुवा गरेको हो । मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । काठमाडौँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ल्याइएको छ ।
धनकुटाका प्रजिअ सीताराम कार्कीलाई इलाम, काभ्रेपलाञ्चोकका प्रजिअ उदयबहादुर रानालाई झापा, बाँकेका प्रजिअ मदन भुजेललाई मोरङ्ग, बाराका प्रजिअ राजेश पौडेललाई सुनसरीमा सरुवा गरिएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा विवरणअनुसार सुर्खेतका प्रजिअ फणीन्द्रमणि पोखरेललाई बारा, ललितपुरका प्रजिअ प्रेमराज जोशीलाई मकवानपुर, धादिङका प्रजिअ भागिरथ पाण्डेलाई ललितपुर, मकवानपुरका प्रजिअ आस्मान तामाङलाई धादिङमा सरुवा गरिएको छ ।
यस्तै मोरङ्गका प्रजिअ रमेशकुमार केसीलाई कास्की, सप्तरीका प्रजिअ सुरेन्द्र पौडेललाई कारागार कार्यालय ललितपुर, जाजरकोटका प्रजिअ ललितकुमार बस्नेतलाई सहायक प्रजिअ पर्सा, बझाङका प्रजिअ सुरेश सुनारलाई मोरङ, रुकुम पूर्वका प्रजिअ वेदनिधि अधिकारीलाई कारागार व्यवस्थापन विभाग काठमाडौँ र मुस्ताङका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई इलाका प्रशासन कार्यालय तुल्सीपुर दाङ्गमा सरुवा गरिएको छ ।
मन्त्रालयका अनुसार इलामका कामु प्रजिअ श्रवणकुमार तिमिल्सिनालाई काभ्रे, महोत्तरीका कामु प्रजिअ उमेशकुमार ढकाललाई पाल्पा सरुवा गरिएको छ । चितवनका सहायक प्रजिअ जनकराज पन्तलाई जाजरकोटको प्रजिअ, बाँकेका सहायक प्रजिअ मोहनप्रसाद अर्याललाई रुकुम पूर्वको प्रजिअ, मोरङ्गका सहायक प्रजिअ उमेश पाण्डेलाई बझाङको प्रजिअ र पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्मालाई चितवनको सहायक प्रजिअमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव महादेव पन्तलाई रुपन्देहीको प्रजिअ, वसन्त अधिकारीलाई सुर्खेतको प्रजिअ, दीर्घनारायण पौडेललाई काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । कारागार कार्यालय सुनसरी झुम्काका सहसचिव डा कृष्णबहादुर घिमिरेलाई धनकुटाको कामु प्रजिअ, कारागार व्यवस्थापन विभाग काठमाडौँका उपसचिव सुनिल खनाललाई सप्तरीको कामु प्रजिअ, गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई महोत्तरीको कामु प्रजिअमा सरुवा गरिएको छ ।
यस्तै कारागार कार्यालय नख्खु ललितपुरका उपसचिव वेदप्रसाद अर्याललाई मुस्ताङको प्रजिअ र काठमाडौँको प्रमुख अध्ययागमन अधिकृत कुमारबहादुर खड्कालाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
काङ्ग्रेस बैठक
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सो प्रस्ताव प्रस्तुत गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बिहीबार केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरे ।
अभ्यास खेलमा नेपाल विजयी
नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले हराएको हो ।
नेपालले बादुरेलियालाई १६५ रनको लक्ष्य दिएको थियो । बादुरेलिया २३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनायो । बादुरेलियाका लागि थिभेन्दु डिक्वेले सर्वाधिक ३१ रनको योगदान दिए । आभिस्का लक्सनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । यस्तै पवन सर्राफ र कमलसिंह ऐरीले दुई–दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।
यतीले दुई हजार ५०० मा भरतपुर–पोखरा उडान गर्ने
यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो ।
एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने उहाँले जानकारी दिनुभयो । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो ।
एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिनुभयो । भरतपुर–पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा रु तीन हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर–काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ ।
मालपोतका कर्मचारी घुस लिएको आरोपमा पक्राउ
मालपोत कार्यालय बुटवलका एक कर्मचारी र एक जना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ गरिएको छ । खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख बीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अर्नाको बच्चा जन्मियो
चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएको एक अर्नाले बच्चा जन्माएको छ । यससँगै यहाँ अर्नाको सङ्ख्या १३ पुगेको छ । गत आर्थिक वर्षमा तीनवटा बच्चा जन्मिएका थिए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यही भदौ ९ गते अर्नाले बच्चा जन्माएको हो । पशु चिकित्सकले बाह्य शरीर हेरेर अन्य दुई अर्नाले पनि बच्चा जन्माउन सक्ने अनुमान गरेको ढकालले जानकारी दिए ।
विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय टोली घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको हो । नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्दै प्रतियोगिता उद्घाटन गर्ने भएको छ । त्यस्तै चिनियाँ ताइपेसँग पनि भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।
छनोट हुने नेपाली खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।
त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । विश्वकप छनोटमा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् ।