
काठमाडौं – नेदरल्यान्ड्स र लिभरपूल क्लबका डिफेन्डर भर्जिल भ्यान डाइकले यूईएफए वर्ष पुरुष खेलाडीको पुरस्कार जितेका छन् ।
फ्रान्सको मोनाकोमा बिहीवार राति च्याम्पियन्स लीगको खेलतालिका सार्वजनिकीकरण कार्यक्रमसँगै भ्यान डाइकलाई पुरस्कृत गरिएको हो ।
इंग्ल्यान्डकी लुुसी ब्रोन्जलाई यूईएफए वर्ष महिला खेलाडीको पुरस्कार दिइएको छ ।
भ्यान डाइकले च्याम्पियन्स लीगको फाइनलमा टोटनह्यामलाई २–० ले हराउन सहायता गरेका थिए ।
उनले बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई हराउँदै यो प्रतिष्ठित पुरस्कार हात पारेका हुन् । उनले कुल ३०५ अंक पाएका थिए भने मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका थिए ।
यो पुरस्कार सन् २०१०–११ देखि दिन थालिएको हो र डिफेन्डरले पुरस्कार पाएको यो पहिलोपटक हो । यसअघिका आठमध्ये पाँच पुरस्कार मेस्सी र रोनाल्डोले जितेका थिए । अन्य विजेता आन्द्रेस इनिएस्ता, फ्र्यांक रिबेरी र लुका मोड्रिच हुन् ।
सन् २०१८ को जनवरीमा साउथह्याम्पटनबाट लिभरपूल आएपछि भ्यान डाइकले निकै उम्दा प्रदर्शन गर्दै आएका छन् । उनको क्लबले च्याम्पियन्स लीग जितेको थियो भने प्रेमियर लीगमा पनि म्यानचेस्टर सिटीलाई अन्तिम दिनसम्म पनि पछ्याएको थियो ।
भ्यान डाइकले पुरस्कार जितेको विषयमा स्पेनी फूटबल विज्ञ गिलेम बलागले बताए, ‘भ्यान डाइक पुरस्कारका हकदार हुन् । उनले खेल्ने तरिका मात्र नभई देखाउने व्यवहार पनि गजबको छ । उनी नेता हुन् र उनले चिच्याइरहनुपर्दैन । उनी सेन्टरब्याक हुन् र उनले ट्याकल गरिरहनुपर्दैन । उनमा परिवर्तन आइसकेको छ । लिभरपूलले डिफेन्ड गरेको त आँकडा र परिणामले नै देखाउँछ । उनी आधुनिक सेन्टरब्याकका आदर्श खेलाडी हुन् ।’
इटलीका फूटबल विज्ञ मिना रजूकीले भने, ‘डिफेन्डरहरूले टीमलाई उम्दा बनाउने कुरामा कुनै तर्क गर्न पर्दैन । तर कहिलेकाहीँ उनीहरूको प्रदर्शनको मूल्यांकन हुँदैन । भ्यान डाइकले लिभरपूललाई धेरै तरिकाले परिवर्तन गरेका छन् अनि उनको सुनिश्चितताका कारण उनीहरू आक्रामक फूटबल खेल्ने अवसर पाउँछन् । उनी ब्याकमा निकै बलियो छन् र उनले नै टीमलाई पहिलेभन्दा उम्दा बनाएका छन् । उनकै कारणले गर्दा लिभरपूल धेरैजसो समय गजबको प्रदर्शन गर्छ ।’
जर्मन फूटबल विज्ञ रफाएल होनिगस्टाइनले भने, ‘भ्यान डाइक पुरस्कारका हकदार हुन् किनकि उनी टीमका प्रतीक हुन् । आर्मब्यान्ड नलगाएपनि उनी कप्तान हुन् र उनले आफ्नो व्यक्तित्वकै कारण पुरस्कार जितेका हुन् । युरोपेली फूटबलका उनी अद्भुत खेलाडी हुन् ।’
बीबीसीबाट