
बुटवल – नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका गाई सुर्खेतको कटुकुवा जंगलमा मृत अवस्थामा भेटिएका छन् ।
झण्डै ३ सय गाई दैलेखका लागि नेपालगञ्जको विर्ता काञ्जी हाउसबाट पठाइएको थियो ।
बिहीवार राति गाईहरू सुर्खेतको जंगलबाट खसेको भन्ने आफूले शुक्रवार मात्र जानकारी पाएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले लोकान्तरलाई जानकारी दिए । ती गाईलाई भीरबाट खसालेर मारिएको स्थानीयले आरोप लगाएका छन् ।
खसालिएका गाईमध्ये २३ वटा मरेका छन् । अन्य घाइते गाई यत्रतत्र रहेका छन् । पाल्नका लागि भनेर ती गाई दैलेख पठाइन लागेको बताइएको छ । ‘म बाटोमा छु, गाई दैलेख लैजानको लागि अनुमति दिइएको हो । के कारणले खसे ? मैले बुझ्न बाँकी छ,’ मेयर राणाले भने ।
कटुकुवा जंगल वीरेन्द्रनगर नगरपालिका–४, ७ र १४ को बीचमा पर्छ । जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको बताइएको छ । नेपालगञ्जमा छाडा चौपायाले सडक क्षेत्र अस्तव्यवस्त भएपछि दैलेख पाल्नका लागि पठाइएको थियो ।