
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको बुधवार बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ३६ वटा शाखा र १ सय २१ शाखारहित बैंकिङ सेवा समेत गरी २ सय ५७ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
बैंकको देशभर १ सय ५७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।