
काठमाडौं–बिहेको बहानामा चीनमा मानव तस्करी हुने गरेको खुलासा भएको छ । नेपाली युवतीहरुलाई विवाहको बहानामा चीनमा मानव तस्करी हुन लागेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चिनियाँसहित १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककी रिना तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वर्ती गुरुङ, अमृता गुरुङ र उषा घिमिरे रहेका छन् । यस्तै चिनियाँ नागरिकहरु ZENG XIANG DONG,ZHANG DONG HUI,QUAN ZHAN PENG र QIN LIYANG पनि पक्राउ परेका छन् ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्दार गरेको समेत जनाएको छ ।
ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई अनेक प्रलोभन दिएर चिनियाँ नागरिकसँग बिबाह गराई मानव तस्करी हुने गरेको खुलेको छ । यस्तो प्रलोभनमा कम उमेरका तथा मङ्गोलियन अनुहारका युवतीहरुलाई लक्षित गरिएको देखिएको छ ।
ती युवतीलाई देशका विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने र चिनियाँ नागरिकहरुलाई भिडियो कल मार्फत भेट गराई उनीहरुको इच्छानुसार युवतीहरु छान्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तर, युवतीहरुलाई बिवाह गर्ने भनिएको श्रीमानको घर, परिवारको बारेमा अनलाइन कलबाट जानकारी भने खासै नगराउने गरेको पाइएको छ ।
त्यसपछि चिनियाँ नागरिक नेपाल आउने र युवतीसँग भेट हुने गरेको पाइएको छ । त्यसपछि नेपालमा हुने सबै प्रक्रिया पुरा गरेर युवतीलाई चीन पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसअघि नेपाली युवतीहरुलाई यसरी नै बिवाहको माध्यमबाट चीन र दक्षिण कोरिया पठाउने समुहलाई २०७१ सालमा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरि कानुन बमोजिम कारबाहि गरेको थियो ।
नेपाली र चिनियाँ दलालहरुले गाँउ देखि चीनसम्म आफ्नो संजाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गरि बिवाह गराउने गरेको पाइएको भन्दै प्रहरीले यो पनि मानव तस्करीको एक स्वरुपको भएको जनाएको छ ।
उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन ,२०६४ अनुसार अनुसन्धान र कारवाही हुने थपलियाले जानकारी दिए ।