
तनहुँ – जिल्लामा ९ जनामा डेंगुको संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका ९ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।
गत साउन २४ गते १ जनामा डेंगु देखा परेको तनहुँमा भदौ ११ गतेसम्म डेंगुका बिरामी ९ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेंगुको संक्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।
गत साउनसम्म दमौली अस्पतालमा डेंगुको शंका लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए । डेंगुका बिरामीमध्ये ३ जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।
अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये १ जनालाई अस्पतालबाट घर पठाइएको र २ जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।
तनहुँमा आर्थिक वर्ष ०७१/७२ मा ३, ०७४/७५ मा १ र ०७५/७६ मा १ जनामा डेंगुको संक्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका ७ जिल्लामा ३३९ जना डेंगुका बिरामी फेला परेका छन् ।
सबैभन्दा बढी कास्कीमा ३ सय १२ र सबैभन्दा कम पर्वत, बाग्लुङ, लमजुङमा २/२ जना डेंगुका बिरामी फेला परेका छन् । स्याङ्जामा ९, तनहुँमा ९, गोरखामा ३ जना डेंगुका बिरामी छन् ।