
ललितपुर – वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ ।
वाग्मती सफाइ महाअभियानको ३२९ औं हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाए ।
नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी गरिरहेको जानकारीसमेत उनले दिए । सफाइमा २२ संस्थाका ५०० भन्दा धेरै अभियानकर्मीको सक्रियता थियो ।
शनिवारको सफाइबाट ४ मेट्रिकटन फोहर व्यवस्थापन भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
सफाइमा पूर्वराजदूत किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, अधिकारसम्पन्न वाग्मतीका आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जन लगायतको सक्रियता थियो ।
सफाइका अवसरमा नेपाल नदी संरक्षण संस्थाले थापाथली पुलबाट सुन्दरीघाटसम्म जलयात्रासमेत चलाएको थियो । संस्थाले वाग्मती सफा बनाउन उद्देश्यले २ दशकअघिदेखि वाग्मतीमा जलयात्रा गराउँदै आएको अध्यक्ष मेघ आलेले बताए ।
मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २९१ औं हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गर्यो । शुक्रबार गोकर्णे औंशीका अवसरमा जम्मा भएका लाखौं भक्तजनले गरेको फोहर व्यवस्थापन गर्न मन्दिर परिसरमै सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
कुहिने फोहरलाई गत वर्ष मन्दिर क्षेत्रमा राखिएको कम्पोष्ट विनमा राखिएको थियो । नकुहिने फोहर भने गोकर्णेश्वर नगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो । मन्दिरमा लागेको मेलामा साढे ३ लाखभन्दा बढी भक्तजनको भीड लागेकाले फोहर सफाइ गर्न कम्तीमा १ हप्ता लाग्ने मञ्चले जनाएको छ । गत वर्ष गोकर्णे औंशीको अवसरमा यो क्षेत्र सफा गर्न डेढ हप्ता लागेको थियो । यस वर्ष भक्तजनले विगत वर्षमा भन्दा कम फोहर गरेकाले एक हप्तामै सकिने जनाइएको छ ।
विष्णुमती सफाइको २५६ औं हप्तामा टोखा नगरपालिका–९ र १० क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको १३९ औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी १३४ जनाको सहभागितामा कार्यक्रम गरियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले बताए ।
मनोहरा नदी सफाइको १२८ औं हप्तामा बालकुमारी पुल क्षेत्रमा एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दंगालले बताए । सफाइमा जिल्ला समन्वय समिति काठमाडौंकी उपप्रमुख सरिता दाहालले नदीमा फोहर फाल्नेलाई स्थानीय सरकारले कडा कारवाहीको व्यवस्था गर्न लागेको सुनाइन् ।
चक्रपथ सफाइ २०७१ ले शनिवार वाफलबाट कलंकी क्षेत्रमा १०८ औं हप्ताको सफाइ गरेको थियो । झरी परिरहेका बेलासमेत जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
यसैगरी प्रत्येक हप्ताको आइतवार सफाइ हुँदै आएको ललितपुरको गोदावरी नदीको कार्यक्रम पनि शनिवार नै गरिएको संयोजक बेबी राजभण्डारी थापाले बताइन् । २६ औं हप्ताको शनिवारको सफाइ महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ र ८ बाट गोदावरी नगरपालिकाको वडा नं १४ सम्म गरिएको थियो ।
नेपाल प्रहरीसमेतको सक्रियतामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो । कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्बर ८ र ९ का अध्यक्ष क्रमशः विश्वराज श्रेष्ठ र वासु शर्माले नदी किनारमा नफाल्न आह्वान गरेका थिए ।
यसैगरी शनिवार चक्रपथको उत्तरखण्ड र आलोकनगरमा १२७ औं हप्ताको सफाइ गरिएको थियो । रुद्रमती, तिलगंगा र गुह्येश्वरी क्षेत्रको वाग्मतीमा पनि सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।