
काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थतन्त्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएका छन् ।
नरेन्द्र मोदी सरकारको अव्यवस्थाका कारण अर्थतन्त्रमा मन्दी छाएको उनको भनाइ छ । सरकारले दुई दिनअघि तथ्यांक सार्वजनिक गरेर अर्थतन्त्रको वृद्धिदर विगत ६ वर्षमा सबभन्दा कम स्तरमा पुगेको स्वीकार गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ५ प्रतिशतमा आएर रोकिएको छ । त्यसअघिको त्रैमासिकमा उक्त आँकडा ५.८ प्रतिशत थियो । सन् २०१८ को जुन महिनामा त्यो ८.० प्रतिशत थियो ।
अर्थशास्त्रीका रूपा परिचित डा मनमोहन सिंहले भने, ‘लगातार यसरी गिरावट भएमा भारतका लागि स्थिति मुश्किल हुनेछ । सरकारले प्रतिशोधको राजनीति छोडेर दिमाग उपयोग गर्दै सबैको सल्लाह सुन्नुपर्छ । सरकारकै गल्तीका कारण अर्थतन्त्रको यो स्थिति आएको हो ।’
जीडीपीको वृद्धिदर ५ प्रतिशत हुँदा भारतीय अर्थतन्त्र लामो अवधिको मन्दीको मध्यमा भएको संकेत प्राप्त हुने सिंहको भनाइ छ । भारतको अर्थतन्त्रमा तीव्र गतिले वृद्धि गर्ने क्षमता भएको उनको भनाइ छ ।
बीबीसी हिन्दीबाट