
काठमाडौं– नेपालगन्जको काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ । यसअघि गृह मन्त्रालयले पनि छानबिन समिति गठन गरिसकेको छ ।
कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।
समितिमा अधिकारकर्मी विश्वजित तिवारी, अधिवक्ता वसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य र उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्यसचिव रहेका छन् । समितिलाई निष्पक्ष छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ ।
यसैगरी, सर्वदलीय, सर्वपक्षीय बैठकसमेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पवित्र उद्देश्यका साथ छाडा पशु चौपाया दैलेख पठाउन लगिएकामा सुर्खेतस्थित कटकुवाको जङ्गलमा छोडिनुलाई गम्भीरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचनासमेत गरेको छ ।
सात जनालाई म्याद थप
यसैबीच जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ ।
सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक÷सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले आइतबार एक हप्ताको म्याद दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले नियन्त्रणमा लिएका पाँच ट्रकका चालक÷सहचालकसँग घटनाबारे सोधपुछ गरिरहेको बताए । “शव परीक्षण रिपोर्ट आउन बाँकी छ, नेपालगञ्ज उपमहानगरपालिका र कान्जी हाउससँग बुझ्दैछौँ,” उनले भने, “दैलेखको शिरस्थान क्षेत्रमा मगाइएको हो या होइन त्यसबारे पनि बुझ्ने काम हुँदैछ, विस्तृत अनुसन्धान गरी दोषीउपर मुद्दा चलाइनेछ ।”
प्रहरीले हालसम्म ३५ गाई–गोरुको मृत्यु भएको जनाएको छ । त्यस्तै जीवित १९६ गाई–गोरुको उद्वार गरी कान्जी हाउसमा फिर्ता पठाइसकेको र बाँकीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनी बीचमा रहेको कान्जी हाउसबाट दैलेखको शिरस्थानसम्म पु¥याउने भनी ल्याइएका गाई–गोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा मृत भेटिएका थिए । ठूलो सङ्ख्यामा गाई–गोरु मृत र बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले ढुवानी गर्ने ट्रकका चालक÷सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।
मुलुकी अपराध संहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ ।
सर्वसाधारणको रकम सुरक्षित
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उनले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिए ।
चिनियाँ नागरिकले शनिबार साँझ दरबारमार्गको एटिएमबाट एक करोड पाँच लाख भारतीय रुपैयाँ र रु एक करोड ७६ लाख निकालेका थिए । बैंकिङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैंकले केही निष्कर्ष निकाल्यो त ? भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भने, “त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरुको छानविन गर्छौ ।”
उनले बैंक तथा वित्तीय संस्थालाई पनि थप सर्तकर्ता अपनाउनसमेत निर्देशन दिइएको बताए । एटिएमबाट पैसा झिक्नका लागि नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैंक, एनआइसी एशिया, जनता, ग्लोबल आइएमइ बैंक र सनराइज बैंकका एटिएम बुथबाट पैसा निकालिएको छ ।
प्रहरीले एटिएमबाट पैसा लुटने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैंकको एटिएम वरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो ।
धम्की दिने तीन जना पक्राउ
विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू नेत्रविक्रम चन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई रकम असुल्ने कार्यमा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ का ४२ वर्षीय विश्वराज शर्मा, झापाको भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र भद्रपुर नगरपालिका–८ का २४ वर्षीय सुभम् घिमिरे छन् । तीनै जनालाई महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
आज तीज
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले बताए ।
“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनल भने । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताए ।
“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, उनले भने । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेद्कारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि उहाँहरुले सुनाए ।
नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ–लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूहको १.४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१४, होटल ३५.९६, विकास बैंक ३.३२, जलविद्युत् १९.७३, निर्जीवन बीमा ८०.०७, उत्पादन ४०.४६, अन्य ४.५, लघुवित्त १३.०४, जीवन बीमा १४३.४९ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु एक करोड १९ लाख ६७ हजार ४६०, प्रभु बैंक रु एक करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड तीन लाख र कुमारी बैंक रु ९३ लाख ५१ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ ।
घुस लिएको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले नियन्त्रणमा लिएको थियो । आयोगले उनीहरुबाट रु दुई हजार र विभिन्न कम्पनीका रु दुई लाख ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो ।
यस्तै आयोगले जिल्ला खेलकूद विकास समिति मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्तबहादुर शाहीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । समितिका तत्कालीन अध्यक्ष रावत र कोषाध्यक्ष शाहीलाई रु एक लाख २० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । खेलमैदान निर्माणमा विनियोजित रकम समितिको बैंक खाताबाट निकासा गरी विद्यालयमा सम्पूर्ण रकम उपलब्ध नगराई हिसाब मिलान गरेर मास्ने नियत राखेको पाइएको आयोगले जनाएको छ ।
गोरु काट्नेविरुद्ध मुद्दा
उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।
अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले बताए ।
अभियुक्तलाई शनिबार स्थानीय गाउँ नजिकैको स्थानमा गोरु काटिरहेका अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आइतबार म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए ।
गाडीका ब्याट्री चोरी गर्ने गिरोह पक्राउ
चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ घर भई हाल मध्यपुरथिमिको राधेराधे बस्ने २२ वर्षीय मनोज सापकोटा, दोलखा बैतेश्वर गाउँपालिका–३ पुतलीघाट घर भई राधेराधे बस्ने ३१ वर्षीय विमल श्रेष्ठ, भारत मोतिहारी पताही थाना घर भई मध्यपुरथिमि बस्ने २१ वर्षीय चन्दन कुमार र भारत मुज्जफरपुर पूर्वीचम्पाण घर भई ललितपुर महानगरपालिका–३ धोवीघाट बस्ने ३७ वर्षीय सुरेन्द्र चौधरी रहेका छन् ।
रोगी पशुपक्षी ढुवानी गरेमा दश वर्षसम्म कैद
विज्ञले चौपाया तथा पक्षी व्यवसायीलाई यातानापूर्वक पशुपक्षीको ओसारपसार नगर्न आग्रह गरेका छन् । यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुने र यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने भएकाले त्यसो नगर्न वरिष्ठ पशु विकास अधिकृत डा श्रीराम अधिकारीले आग्रह गरेका हुन् ।
पशुपक्षीको ढुवानी गर्दा नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाँध्ने, क्षमताभन्दा वढी राख्ने, हावादार साधनको प्रयोग नगर्ने, यात्रुबाहक बसको डिक्कीमा राख्ने, ढुवानीका साधनमा उपचार बक्स नराख्ने, बीच–बीचमा खाना वा पानीको व्यवस्था नगर्ने, साना र ठूला पशु एकै ठाउँमा राखी ओसारपसार गर्ने कार्य पशुपक्षीका लागि यातना दिएको बुझ्नुपर्छ । पशुपक्षीलाई यातनापूर्वक ओसारपसार गरेकै कारण यस वर्ष देशका विभिन्न आठ पशु क्वारेन्टाइन कार्यालयबाट करीब रु १८ लाख राजश्व असुल गरिएको पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काप्mलेले जानकारी दिए ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले रोगी घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नपाइने र पशु ढुवानी मापदण्ड, २०६४ ले पशुपक्षीलाई यात्रुवाहक सार्वजनिक सवारीका साधनको छत वा डिक्कीमा राख्न नहुने र मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले रोगी पशुको ढुवानी गरेको प्रमाणित भएमा १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना तोकेको छ ।