२८ जेठ २०८३, बिहीबार

भारतीय इतिहासकार रोमिला थापरको बायोडेटा मागियो, भयो विवाद

भारतीय इतिहासकार रोमिला थापरको बायोडेटा मागियो, भयो विवाद

काठमाडौं – भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले इतिहासकार रोमिला थापरको बायोडेटा मागेपछि विवाद शुरू भएको छ । 

विश्वविद्यालयमा लामो समयदेखि प्रोफेसर इमेरिटसका रूपमा जोडिएकी थापरसँग बायोडेटा मागिँदा विद्यार्थी, प्राध्यापक र इतिहासकारहरूको एक वर्गले विरोध गरिरहेको छ । विश्वविद्यालय प्रशासनले थापरलाई बदनाम गर्नका लागि बायोडेटा मागेको उनीहरूको आरोप छ । 

विश्वविद्यालयले चाहिँ नियममै रहेर बायोडेटा मागिएको बताएको छ । 

थापर सन् १९९३ देखि जेएनयूमा प्रोफेसर इमेरिटसका रूपमा जोडिएकी छन् । प्राचीन इतिहासको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने थापरलाई विश्वविद्यालयले पत्र लेखेर बायोडेटा मागेको थियो । 

विश्वविद्यालयका अनुसार, ७५ वर्ष कटेका सबैले आफ्नो उपलब्धता र विश्वविद्यालयसँग सम्बन्ध कायम राख्ने सम्बन्धमा इच्छा व्यक्त गरून् भनी पत्र पठाइएको हो । यस श्रेणीमा पर्ने प्रोफेसर इमेरिटसलाई मात्र बायोडेटा मागिएको उसको भनाइ छ ।

थापरसँग बायोडेटा मागिएको विषयमा विरोध गर्नेहरूले विश्वविद्यालय अनुदान आयोगको नियम हालै मात्र ल्याइएको जबकि प्रोफेसर थापरको इमेरिटस स्टेटस जिन्दगीभरिको लागि भएको बताएका छन् । 

यसैबीच एक टीभी च्यानललाई अन्तर्वार्ता दिँदै थापरले आफू जिन्दगीभरिका लागि प्रोफेसर इमेरिटस भएकाले सीभी नबुझाउने बताइन् । प्राचीन भारतको मार्क्सवादी व्याख्या गर्ने भएकाले थापरलाई भारतीय जनता पार्टी सरकारले मन पराउँदैन, त्यसैले उनलाई अपमान गर्न सीभी मागिएको हो भनी सामाजिक सञ्जालमा आरोप लगाइएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्