
काठमाडौं – स्पेनको एक सांगीतिक समूहकी गायकले स्टेजमा प्रस्तुति दिँदै गर्दा गरिएको आतिशबाजीका कारण आगो लागेपछि डढेर ज्यान गुमाएकी छन् ।
द सुपर हलिउड अर्केस्ट्रा नामक सांगीतिक समूहमा गायक, संगीतकार र नर्तक गरी १५ सदस्य छन् । उनीहरू शनिवार राति अभिलास्थित लास बर्नालासमा प्रस्तुति दिइरहेका थिए ।
स्टेजमा याआना साइन्ज भनी चिनिने गायिकाले प्रस्तुति दिँदै गर्दा आतिशबाजीको रकेटले पेटमा हिर्काएको थियो ।
उनलाई गम्भीर चोट लागेपछि तत्कालै अस्पताल लगिएको थियो तर अस्पतालमै उनको मृत्यु भएको एल नोर्ते दे कास्तिला पत्रिकाले लेखेको छ ।
घटनाको भिडियोमा नौजना कलाकार स्टेजमा चर्को संगीतमा नाचिरहेको देखिन्छ ।
अचानक स्टेजअगाडि रहेका आतिशबाजी गर्ने दुईवटा डिभाइसबाट झिल्का निस्कन्छन् र दाहिनेतिरको डिभाइस विस्फोट भएको जस्तो देखिन्छ ।
साइन्ज स्टेजमै लड्छिन् र उनका सहकर्मीहरू उनलाई सम्हाल्न दौडिन्छन् ।
घटनापछि प्रस्तुति बन्द गरिएको थियो । घटना आइतवार राति २ बजे भएको थियो ।
प्रस्तुतिको समयमा लगभग एक हजार मानिस उपस्थित थिए ।
मेडिकल सर्भिसले घटनास्थलमा गायिकालाई प्रारम्भिक उपचार गरेका थिए र उनलाई बेहोश अवस्थामा अभिला अस्पताल लगिएको थियो । दर्शकदीर्घामा एक चिकित्सक पनि थिए र उनले पनि सहायता गरे ।
प्रत्यक्षदर्शीहरूले निकै ठूलो आवाज सुनेको अनि गायिका भुइँमा लडेको देखेको बताए । त्यसपछि तत्कालै पर्दा खसाइएको थियो ।
आतिशबाजी गर्ने रकेटमध्ये एउटा सही दिशामा गयो भने अर्कोले गायिकाको पेटमा हान्यो, एक व्यक्तिले बताए ।
एजेन्सी