
रत्ननगर– प्रतिलिटर दूध उत्पादनमा रु तीन अनुदान उपलब्ध गराउने माडी नगरपालिको निर्णय प्रभावकारी देखिएको छ । गत आवदेखि लागू गरिएको अनुदानको व्यवस्थाले यहाँका कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका छन् ।
कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष रु ६० लाख विनियोजन गर्दै आएको छ । कृषकलाई गत आवमा अनुदानबापत रु ३६ लाख ५० हजार उपलब्ध गराएको माडी पशुसेवा शाखाका प्रमुख मोहन रानाभाटले जानकारी दिए। कृषक पशुपालनतर्फ आकर्षित भएसँगै माडीमा दूध उत्पादनमा वृद्धि भएको छ । अहिले यहाँ दैनिक छ हजार लिटर दूध उत्पादन भइरहेको छ । यस अघि दैनिक दुई हजार लिटर दूध उत्पादन हुने गरेको थियो ।
शाखा प्रमुख रानाभाटका अनुसार खरीद गरिएको दूधको तथ्याङ्कअनुसार कृषकलाई अनुदान दिइएको हो । दूधको उत्पादन वृद्धि भएसँगै स्थानीय बजारमा माग बढेको उहाँको भनाइ छ । दूध उत्पादनको लागत घटाउन नगरपालिकाले घाँसमा आधारित पशुपालनलाई प्राथमिकता दिएको छ । माडी नगरपालिका र कृषि विकास बैंकको संयुक्त सहकार्यमा कृषकले साढे चार प्रतिशतमा कर्जा पाउने भएपछि उनीहरु पशुपालनतर्फ आकर्षित भएका नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । “प्रभावकारी देखिए पछि दूध उत्पादनमा पनि अनुदानको व्यवस्था गरेका छौँ”, उनले भने।
स्थानीय कृषक सूर्यप्रसाद भुसालले उत्पादनमा आधारित अनुदान भएकाले कृषकलाई प्रोत्साहित गरेको बताउनुभयो । उहाँले अनुदानका कारण माडीमा घट्दै गएको दूध उत्पादन बढेको बताए। उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्नुपर्नेमा भुसालले जोड दिए। हाल नगरपालिकाले उपलब्ध गराउँदै आएको प्रतिलिटर रु तीनलाई बढाएर रु १५ पुर्याउन उनले नगरपालिकासँग माग गरे।
नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन दिन कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको व्यवस्था गरेको छ । यहाँ ५० भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्दैआएका छन् । चितवन देशकै धेरै दूध उत्पादन हुने ठाउँ मध्ये पर्छ । यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ ।