२२ जेठ २०८३, शुक्रबार

आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न सामाजिक जागरण

आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न  सामाजिक जागरण

काठमाडौँ– सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ ।

‘तपाईंलेदेख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन गर्न र आँखा नदेखे पनि अद्भुत क्षमताका व्यक्तिलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको  हितका लागि डेढ दशकदेखि नेपाल र भारतमा काम गर्दै आएकी साराह गिरीले भनिन्, “हामीले बिचराको सहानुभूति प्रकट गरेका मानिसमा अद्भुत क्षमता, सबै संसार र आफ्नै दुनियाँ छ, तपाईं हामीले देखेको विश्वलाई उहाँहरुले गरेको अनुभवमा वास्तविकता छ ।” 

“भौतिक दृष्टिले देख्छ मात्र, अनुभव गर्दैन, दृष्टि नभएकाले अनुभव गर्छन्, जसमा सत्यता हुन्छ, देखेको कुरा सधैँ सत्य नहुन सक्छ, तर अनुभव गरेको विषय सधैँ सत्य नै हुन्छ”, उनले भनिन्, “हामीले अनुभव गरेको विश्वलाई तपाईंहरुले वास्तविक रुपमा देख्न पाउनुभएको भए चकित खानुहुन्थ्यो भनी उहाँहरुले व्यङ्ग्य गर्दै आएकोे प्रसङ्ग पनि घतलाग्दो छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गल्फ, पौडी, स्किङ, सगरमाथा आरोहण र खानाका परिकार बनाउने प्रतियोगिताका विश्व विजयी तथा उत्कृष्ट व्यक्तिको सफलताका कथाको विषयवस्तु समेटिएको जानकारी गराउन भदौ २२ गते कार्यक्रम आयोजना गरिँदैछ । न्यून दृष्टियुक्त भएका व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिले शहरका गल्ली र चोकमा सुरिलो गीतसङ्गीतको धून प्रस्तुत गर्ने मात्र होइन, समाजमा अरू महत्वपूर्ण र उदाहरणीय काम गर्दै आएका घटना प्रशस्तै छन् ।

यसैगरी न्यून दृष्टियुक्त व्यक्ति प्रधानन्यायाधीश, वकिल, आइटी डिजाइनर, सफ्टवेयर विज्ञ, उद्योगी तथा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत उदाहरणीय व्यक्तिको पनि सो कार्यक्रममा परिचय गराइनेछ । ‘एविलिज फाउण्डेशन’को देशीय संयोजक वीरेन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले लगायतले कार्यक्रममा विषयगत सत्रको नेतृत्व गर्दै त्यस्ता व्यक्तिको अधिकार र हकहितका लागि अघि सारिनुपर्ने कार्ययोजनाबारे आ–आफनो धारणा प्रस्तुत गर्नु हुनेछ ।

अमेरिकी अडियो विस्तृतीकरण परियोजनाका निर्देशक डा जोयल स्यान्डरले श्रव्य प्रविधिको माध्यमबाट सबै कुरा थाहा पाउने प्रविधिको नेपालमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नेछन् । न्यून दृष्टियुक्त भएका व्यक्तिको शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीको समेत सहभागिता रहने उक्त कार्यक्रममा चित्रकला प्रदर्शनी र गीतसङ्गीत कार्यक्रमसमेत प्रस्ततु हुने आयोजक संस्थाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्