१२ असार २०८३, शुक्रबार

जागिर लगाइदिने भन्दै एक दर्जन बढी महिला बलात्कार, ह्याकरको पैसा साट्दा फन्दामा

जागिर लगाइदिने भन्दै एक दर्जन बढी महिला बलात्कार, ह्याकरको पैसा साट्दा फन्दामा

काठमाडौं–भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् ।  

 देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । 

    अस्पतालमा सोमबार आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताए ।  

    उनले भने, “देशभरका क्यान्सरका बिरामीको उपचारका लागि आएको बजेटमा ब्रम्हलुट गर्ने पदाधिकारीलाई अब क्यान्सर अस्पतालमा कुनै हालतमा प्रवेश गर्न दिदैनौँ, उनीहरु विरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छौँ, अस्पतालमा सेवा पनि रोक्दैनौँ ।”

जागिरको प्रलोभनमा बलात्कार

जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

रोजगारी डटकममार्फत एनआइसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागीर लगाइदिने भन्दै सम्पर्क बनाई सन्तोषले धेरै महिलालाई जालमा पारी बलात्कार र लुटपाट गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । 

आरोपितविरुद्ध पाँचजनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रनाउ मिश्रले बताए ।  सामाजिक सञ्जाल र इमोमार्फत फोन सम्पर्क गरी जागीर लगाइदिने भन्दै विराटनगर बोलाउने यादवले त्यहाँबाट आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपाट गर्ने गरेको खुलेको छ । 

यादवलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको छ । प्रहरीले यादवको घरबाट लुटिएका महिलाको पर्स, आठ वटा मोबाइल, सुन र चाँदीका गरगहना, नगद ३४ हजार, सनराइज बैंकको भिसा कार्ड, दुई वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टीकर, चक्कु, खुकुरी र छुरी बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार यादवले नेपालगञ्ज, सिन्धुपाल्चोक, सोलुखुम्बु, कञ्चनपुरलगायत विभिन्न जिल्लाका युवतीलाई जागीरको प्रलोभनमा फसाई लुटपाट गरेका छन् ।

प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगङ्गा गाउँपालिका–३ नेमुवास्थित डेराबाटै पक्राउ गरेको हो ।

    पशु मार्नेलाई कारवाहीको माग 

    पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ ।सोमबार आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो ।

    राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा एवं दर्शन

    नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छिन् ।   बेलुकी ५  बजे मन्दिर प्राङ्गण प्रवेश गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरिन् ।  पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए । 

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

    झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।

    मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए । 

लोकसेवा अध्यक्षको पारिश्रमिकको व्यवस्था

    प्रदेश नं ५ लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएको झण्डै एक महीनापछि अध्यक्षको पारिश्रमिक र सेवा सुबिधाको व्यवस्था गरिएको छ । आयोगका अध्यक्षको पारिश्रमिक, सेवा, शर्त र सुविधा निर्धारणसम्बन्धी ब्यवस्था गर्न कानून नै निर्माण गर्नुपर्ने भए पनि प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काललाई राजपत्रमा सूचना प्रकाशित गरी व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 
    
    सरकारको निर्णयसँगै आयोगका अध्यक्षले नेपाल सरकारको विशिष्ठ श्रेणि स्तरको सेवा सुविधा पाउने व्यवस्था गरिएको छ । आयोग अध्यक्षले मासिक रु ६४ हजार ४२० पारिश्रमिक, रु एक हजार विशेष भत्ता, आवाश सुविधा रु १७ हजार ९५०, विद्युत्, पानी, टेलिफोन मासिक एक हजार ५००, सवारी इन्धन मासिक ८० लिटर डिजेल, पाँच लिटर मोविल, पोसाक भत्ता वार्षिक रु १० हजार लगायतको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए । 
    ह्याकरको पैसा सटही गर्ने पक्राउ

    बंैकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

    उनका अनुसार फरार रहेका तीन जना ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै साटेका थिए । यस्तै प्रहरीले सोमबार ह्याकरको सदस्यमध्ये अर्का एक चिनियाँ मुलका फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ।  अन्य दुई जना भने अझैं फरार छन् । यसअघि शनिबार प्रहरीले ५ चिनियाँलाई पक्राउ गरेको थियो । 

घुस लिएको अभियोगमा पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत पूर्वकर्मचारी हरिमोहन क्षेत्रीले सेवाग्राहीसँग रु एक लाख घुस मागेको अभियोगमा सोमबार पक्राउ गरेको छ । 

    आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आयोगको हेटौँडाबाट गएको टोलीले क्षेत्रीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी क्षेत्रीको थप अनुसन्धान भइरहेको छ । 

फरार अभियुक्त पक्राउ गर्न गोली प्रहार 

    चोरी तथा डकैती मुद्दामा  अदालतद्वारा छ वर्ष कैद सजाय सुनाइएका फरार अभियुक्तलाई  गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको छ ।
 
    आठ वर्षअघि चोरी तथा डकैती अपराधमा बर्दिया जिल्ला अदालतद्वारा छ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाउँपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउनु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्