१६ असार २०८३, मंगलबार

महिलाहरु आत्मनिर्भर बन्दै

महिलाहरु आत्मनिर्भर बन्दै

बलेवा– बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थालेकी थिइन् । उहाँले बाख्रा पालेरै छोराछोरी पढाइन्, घर खर्च चलाइन् र केही तरकारी पनि फलाइन् ।

कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाएकी छिन् । नियमित बाख्रापालन गरेर उनले कमाइ मात्र गरिनन्, सहकारीमा आबद्व सदस्य र सञ्चालकको मन पनि जितिन् । समयमा ऋण तिर्ने कामले उनीप्रति विश्वास बढायो । उनको मेहेनतमा श्रीमान् खड्गबहादुर जिसीले पनि साथ दिए। 

“साहुको घरमा पुगेर ऋण माग्न कठिन हुन्थ्यो, आफ्नै सहकारीमार्फत काम गर्न सजिलो भयो”, उनले भनिन्, “दुई छोरी र एक छोरा हुर्काउन सहकारीको ऋणले साथ दियो ।” नियमित मेहेनत गरेकै कारण उनले ऋण चाहेजति पाउने भएपछि बाख्रापालन छाडेर भैँसीपालनको तयारी गरेकी छिन् । उनले भैँसी पालेर बजारमा दूध बिक्री गर्ने योजना बनाएको बताइन्। “अब भैँसी पाल्ने योजना बनाएकी छु”, उनले भनिन्, “त्यसका लागि रु १० लाख बढी खर्च लाग्छ ।” 

सहकारीबाट केही ऋण लिएर यसअघि कमाएको कमाइ त्यसमा मिसाउने उनको तयारी छ । सहकारीले पनि उनलाई विश्वास गरेकाले उद्यम गर्नका लागि साथ दिने अध्यक्ष पिङ्गला खड्काले बताइन्। “हामीले ऋण मात्र दिएका छैनौँ, महिलालाई उद्यमी पनि बनाएका छौँ”, खड्काले भनिन्, “अधिकारका लागि हामीले अभियान चलाएका छौँ ।” महिलाले आफ्नो अधिकार खोजी गर्दै उद्यमी पनि बनेका उनले बताइन्। आर्थिक क्रान्तिको लागि सहकारीले महिलालाई साथ दिने उनको भनाइ छ ।
 
जिसीलाई सहकारीले उत्कृष्ट ऋणीका रुपमा पुरस्कारसमेत दिएको छ । जिसीजस्तै सहकारीकै साथ पाएर १०० बढी महिलाले व्यवसाय चलाएका छन् । झण्डै ५०० महिला सदस्य भएको सहकारीमा हरेकले कुनै न कुनै उद्यम गरिरहेका सञ्चालकले बताएका छन् । व्यावसायिक गाई, भैँसी, बाख्रापालनसहित तरकारी खेती, पसल सञ्चालन र अन्य व्यवसायका लागि पनि ऋण प्रवाह गर्दा शतप्रतिशत असुली भएको खड्काले बताइन्।

पछिल्लो समय उनीहरुले घरघरबाट विकृतिविरुद्धको अभियान पनि चलाउने गरेका छन् । छोराछोरीमा भित्रिएको विकृतिको समस्या समाधान गर्न उनीहरु लाग्न लागेका हुन् । छोराछोरीको दैनिकी बुझेर विकृतिमा लागेका भेटिए सुधार गर्ने योजनामा पनि उनीहरुले तयारी गरेको उनले बताइन्। तत्कालीन महिला तथा बालबालिका कार्यालयले गठन गरेको समूहबाट खोलिएको सहकारीबाट महिलाको बोल्ने क्षमता पनि विकास भएको अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताइन्। 

“अधिकार खोज्दै आत्मनिर्भर व्यवसाय खोज्न सजिलो होस् भनेर महिला विकास कार्यालयले बीउ पूँजी दिएर थालेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले सबैजना खुशी छन्, उद्यम गर्छन् र सचेत भएका छन् ।” घरपरिवारका सदस्यको आशमा बस्नुपर्ने महिलालाई आफ्नो कमाइ खाने अवस्था सिर्जना भएको उनले बताइन्।  

salt training

कमेन्ट गर्नुहोस्