
काठमाडौं – आफूले चार महिनाको तेल बिक्रीको १५ अर्ब डलर रकम पाएमा सन् २०१५ मा भएको आणविक सम्झौतामा उल्लेख गरिएको प्रतिबद्धता पालन गर्ने इरानले जनाएको छ ।
दुई महिनाभित्र आफ्नो माग पूरा गर्न इरानले युरोपेली हस्ताक्षरकर्ताहरूलाई भनेको छ ।
तेहरानले आणविक सम्झौताको पूर्ण पालन गरेमा १५ अर्ब डलरको ऋण उपलब्ध गराउने फ्रान्सले प्रस्ताव गरेको छ । तर वाशिङटनले यसलाई रोक्न पनि सक्छ ।
‘हामीले १५ अर्ब डलर पायौं भने आणविक सम्झौताको पूर्ण कार्यान्वयन गर्नेछौं नत्र प्रतिबद्धताबाट क्रमशः हट्दै जाने प्रक्रिया जारी राख्नेछौं,’ इरानका परराष्ट्र राज्यमन्त्री अब्बास अराक्चीले बताए ।
‘कि त युरोपले इरानसँग तेल किन्नुपर्यो कि त इरानले तेल बचेर कमाउने गरेको पैसा दिनुपर्यो,’ अराक्चीले थपे ।
तर इरान र उसका आणविक सम्झौता साझेदारहरूबीचका वार्तामा गम्भीर असहमति कायम रहेको अराक्चीको भनाइ छ ।
अमेरिकाले आणविक सम्झौताबाट हात झिकेर तेहरानमाथि प्रतिबन्ध लगाएपछि इरानले तेल बिक्री गर्न पाएको छैन ।
इरानका राष्ट्रपति हसन रूहानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने भनेको भोलिपल्ट परराष्ट्र राज्यमन्त्रीको टिप्पणी आएको हो ।
एजेन्सी