
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु–कश्मीरको धारा ३७० हटाउने प्रावधान भारतको आन्तरिक मामिला भएको बयान मंगलवार दिएको भनी भारतीय न्युज वेबसाइट जागरणले लेखेको छ ।
हिन्द महासागर सम्मेलनमा भाग लिन गएका ज्ञवालीले सम्मेलनबाहिर संविधान परिवर्तन गर्नु भारत सरकारको अधिकारक्षेत्रको विषय भएको बताए । त्यसमा टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।
नेपाल सरकार कश्मीरमा काम गर्ने आफ्ना नागरिकप्रति चिन्तित रहेको तर उनीहरू सुरक्षित छन् भन्ने थाहा पाएपछि खुशी भएको ज्ञवालीको भनाइ छ ।
भारत र पाकिस्तानबीचको तनाव कम हुने विश्वास आफूले लिएको उनको भनाइ थियो । सार्कको बहालवाला अध्यक्षको हैसियतमा नेपालले सबै विवाद वार्तामार्फत हल गरिनुपर्ने मान्यता राखेको बताए । तनाव बढाएर कसैलाई पनि फाइदा नहुने उनको भनाइ छ ।
युद्ध सबभन्दा खराब विकल्प भएको र सबै देशले युद्धको विकल्प खोज्नुपर्ने उनको कथन छ ।
उनले भने, ‘आशाका केही किरण छन् जस्तो लाग्छ जसले तनाव घटाउन सक्छन् र कश्मीर क्षेत्रमा शान्ति तथा स्थिरता स्थापित गर्नका लागि कुराकानी शुरू हुन सक्छ ।’