काठमाडौं – भारतको पञ्जाबमा रहेको गुरदासपुरमा बुधवार एक पटाका कारखानामा विस्फोट हुँदा २३ जना मारिएका छन् भने ३० भन्दा बढी मानिस घाइते भएका छन् ।
कारखानाका एक मालिक बाहेक मारिने सबै व्यक्ति अवैध इकाइका कामदार रहेको डीआईजी एसपीएस परमारले बताए । घटना हुँदा कारखाना नजिक पुगेका दुईजना पनि मारिएका छन् ।
विस्फोटको खास कारण पत्ता लागेको छैन तर परमारका अनुसार, कारखानामा भारी मात्रामा पटाका राखिएको थियो । आगलागीलाई पछि नियन्त्रण गरिएको थियो ।
विस्फोट निकै ठूलो भएकाले लगभग एक किलोमिटर परसम्म त्यसको आवाज सुनिएको थियो । कारखानाको ५०० मिटर क्षेत्रको एक शपिङ मल र घरहरूका शीशा फुटेका थिए । विस्फोटमा नजिकैका भवन पनि क्षतिग्रस्त भएका छन् जसमा गुरुद्वारा र विद्यालय पनि पर्छन् । त्यता रोकिएका गाडीहरू समेत विस्फोटपछि हुर्रिएका थिए ।
घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ । उक्त क्षेत्रका स्थानीयहरूले आवास क्षेत्रमा अवैध पटाका कारखाना हटाउनका लागि प्रशासनलाई धेरैपटक अनुरोध गरे पनि बेवास्ता गरिएको थिएन ।
एजेन्सी